विराटनगर — मोरङको बुढीगंगा गाउँपालिका-४ स्थित मनमोहन पोलिटेक्निक प्राविधिक शिक्षालय सधै अब्बल हुँदै आएको छ । गुणस्तरीय पठनपाठनसँगै दक्ष जनशक्त्ति उत्पादन गर्न अग्रसर मनमाहेन पोलिटेक्निकले सरकारबाट चार पटक पुरस्कृत भइसकेको छ । जसका कारण यो प्राविधिक शिक्षाका हिसावले देशकै उत्कृष्ट शिक्षालय बन्न सफल भएको छ ।
२०७३ र २०७४ मा कोशी प्रदेशको र २०७५ र २०८० मा सिंगो देशबाटै उत्कृष्ट शिक्षालयका रुपमा पुरस्कृत भएको हो । ‘औजार उपकरणले मात्र हैन, भौतिक पुर्वाधारले समेत यो शिक्षालय अग्रणी छ’, शिक्षालयका प्राचार्य सुदिप अधिकारीले भने ।
अनुभवी दक्ष शिक्षकका कारण हरेक वर्ष अध्ययनका लागि विद्यार्थीको भीड बढ्छ । प्राचार्य अधिकारीका अनुसार २ सय ६४ सिटका लागि प्रत्येक वर्ष एक हजार जना भन्दा बढि बिद्यार्थीका आवेदन पर्ने गरेको छ । २०६५ मा स्थापना भएको मनमोहन पोलिटेक्निकले अहिलेसम्म २ हजार ५ सय जना दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गरिसकेको शिक्षालयको दाबी छ ।
उत्पादन भएका जनशक्त्ति व्यवहारिक रुपमा दक्ष भएकोले प्रायः सबैले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा पनि अवसर पाइसकेका छन् । कतिपय उच्च प्राविधिक शिक्षा अध्ययनपछि विज्ञ बनिसकेका छन् । देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा सञ्चालन भैरहेको मनमोहन पोलिटेक्निकमा बिद्यार्थीहरु आफै कमाउँदै पढने ‘अर्न टु लर्न’ कार्यक्रम पनि छ ।
यसबाहेक यो शिक्षालयले दलित, सिमान्तकृत र जेहेन्दार विद्यार्थीहरुलाई वर्षेनी छात्रबृत्ति उपलव्ध गर्दै आएको छ । भारत सरकारसंग २०६२ मा सम्झौता भई २०६५ देखि प्राविधिक बिषयमा पठनपाठन सुरु गरेको शिक्षालयमा २०६८ देखि ईलेक्ट्रिक्स मेकानिक, सिभिल र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्स, आर्किटेक्चर, ईन्फमेसन टेक्निोलोजी, अटोमावाईल्स आदि ७ वटा विषयमा डिप्लोमा तहमा पढाइ हुँदै आएको छ ।
दुई वर्षे डिप्लोमा तहको औद्योगिक मेकानिकल कोर्ष पनि पढाई हुन्छ । यसबाहेक स्थानिय र स्विस सरकारको सहयोगमा विल्डिड, मोटरसाइकल, लाईट भेहिकल, कम्प्युटर हार्डबेयर र नेटवर्किङ, एसी मर्मत, टाईल मार्वल फिटिङ, विल्डर, पेन्टिङ आदि १२ बिषयको मेकानिक तालिम पनि सञ्चालन हुदै आएको छ ।
अति न्युन खर्चमा बिद्यार्थीहरुलाई कोर्ष गराईरहेको मनमोहनले हरेक वर्ष ४ जनालाई निशुल्क, २० जनालाई सहुलियतमा र ३० जनालाई आफै कमाएर पढने गरी निशुल्क पढाउँदै आएको छ । चार जना बिद्यार्थी पूर्व अध्यक्ष भरतमोहन कोइराला परिवारले प्रदान गर्ने छात्रबृत्तिमार्फत पढ्ने गरेका छन् ।
३० जनाले शिक्षालयकै १० बिगाहा जमिनमा खेती गरेको आम्दानीबाट पढ्दै आएका छन् । हरेक संकायमा ४२ जना बिद्यार्थी हरेक वर्ष भर्ना गर्दै आएको मनमोहनमा हरेक वर्ष १ सय ९२ जना बिद्यार्थीले ईन्जिनियरिङं बिषय पढने गर्ने गरेका छन् ।
