कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

प्राविधिक विषयका विद्यार्थी नहुँदा पठनपाठन बन्द

आश्विन १५, २०८०
प्राविधिक विषयका विद्यार्थी नहुँदा पठनपाठन बन्द

रामेछाप — कुनै बेला प्राविधिक विषय अध्यापन गर्ने विद्यालयको नामले चिनिएको रामेछापको सदरमुकामस्थित मन्थली माविमा यो वर्षदेखि व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको प्राविधिक विषय अध्यापन गराउने कक्षा बन्द भएको छ । माविमा सञ्चालित १८ महिने ओभरसियर पढाउने प्राविधिक कक्षा बन्द भएको हो ।

यस वर्ष उक्त विषयमा अध्ययनका लागि एक जना विद्यार्थीले पनि विद्यालयमा सम्पर्क गरेनन् । कम्तीमा १० जना नभएसम्म कक्षा सञ्चालन नगर्न माथिल्लो निकायबाट निर्देशन आएको थियो ।

एसएलसी परीक्षा हुन्जेल त्यसमा असफल हुनेहरूको रोजाइमा सीटीईभीटीको प्राविधिक विषय पर्ने गर्थ्यो । जब एसईई परीक्षा प्रणाली लागू भयो, त्यसपछि उक्त विषयमा अध्ययनको रुचि ओरालो लागेको हो । एसईईमा अधिकांश विद्यार्थी माथिल्लो कक्षा अध्ययनका लागि योग्य हुन थालेपछि प्राविधिक विषयको आकर्षण घटेको निष्कर्ष विद्यालयको छ । पहिले एसएलसीमा अनुत्तीर्ण विद्यार्थीलाई तालिम गराएर प्राविधिक एसएलसीसरहको योग्यता हुने प्रमाणपत्र दिने गरिएको थियो । त्यसलाई प्राविधिक एसएसली भन्ने गरिन्थ्यो ।

विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालका अनुसार व्यावसायिक शिक्षा तथा तालिम परिषद्सँग सम्झौता गरी २०५९ सालदेखि विद्यालयले उक्त कक्षा सञ्चालन गर्दै आएको थियो । गत वर्ष ७ जना भर्ना भएकोमा यस वर्ष कुनै विद्यार्थी भर्ना नभकाले सधैंका लागि उक्त विषयको अध्यापन बन्द गर्न विद्यालय बाध्य भएको दाहालले बताए ।

विद्यालयलाई वर्षको ४० वटा कोटा अध्यापनका लागि स्वीकृति थियो । ‘हामी नै हो ४० कोटाका लागि ४ सय जनाको परीक्षा लिने,’ दाहालले भने, ‘भर्नाका लागि मन्त्री र नेताहरूको सिफारिस थेग्न हम्मे थियो । तर, अहिले ती दिन सम्झनामा मात्र रहे ।’

प्राविधिक विषयमा १ वर्ष कक्षा र थप ६ महिना कार्यगत तालिम लिएपछि परिषद्ले सहायक चौथो तहको रोजगारीका लागि योग्य हुने प्रमाणपत्र दिने गरेको थियो । प्राविधिक विषय अध्ययन गरेकाले रोजगारीको अवसर पाउने भएकाले विद्यालयले त्यसै कुरालाई प्रचार गरेर विद्यार्थीलाई आकर्षण गर्ने गर्दथ्यो ।

प्रकाशित : आश्विन १५, २०८० १५:५५
×