मध्यपश्चिम विश्वविद्यालयले थाल्यो कर्णालीमा वातावरण विज्ञानमा स्नातक तह अध्यापन

ज्योति कटुवाल

वीरेन्द्रनगर — मध्यपश्चिम विश्वविद्यालयले कर्णाली प्रदेशमा पहिलोपटक वातावरण विज्ञानमा स्नातक तहको अध्यापन सुरु गरेको छ । विश्वविद्यालयको ग्रयाजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीले ४ वर्षे बीएससी इन्भाइरोन्मेन्टल साइन्सको अध्यापनका लागि यसै वर्षदेखि भर्ना सुरु गरेको हो ।

मध्यपश्चिम विश्वविद्यालयले थाल्यो कर्णालीमा वातावरण विज्ञानमा स्नातक तह अध्यापन

विश्वविद्यालयले यो विषयमा विद्यार्थीले विज्ञानको विविध आयामबारे कर्णालीको भूगोल बुझ्दै पढ्न पाउने जनाएको छ ।

चार वर्षे कोर्समा विद्यार्थीहरुले जैविक विविधता र संरक्षण, रिसर्च मेथडलोजी, जियोकेमस्ट्री र जियोफिजिक्स, वातावरण परियोजना, वायुमण्डल र जलचक्र, इभोसुलनरी बायोलोजी, इन्भाइरोन्मेन्टल थर्मोडाइनामिक्स पढाइ हुने भएको छ । यस्तै विपत् र मानवीय सहायता, ऊर्जा र वातावरण, हिमाली वातावरण लगायतका विषयमा अध्यापन गराउने विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायको डीन डा. सुदीप ठकुरीले बताए ।

‘यो नयाँ विषय हो,’ उनले भने, ‘यो अध्ययन अध्यापन गर्ने मोडल भने नेपालमै पहिलो पटक कर्णालीबाट सुरु हुँदै छ ।’ उनका अनुसार विद्यार्थीहरुले अध्ययनपछि कर्णालीमै वातावरणसँग सम्बधित विषयमा अनुसन्धान गर्न सक्छन् ।

जलवायु विज्ञसमेत रहेका डा. ठकुरीले ६० प्रतिशत प्रयोगात्मक अभ्यास हुने यो विषय अध्ययन गर्दागर्दै विद्यार्थीले लगानी उठाउन सक्ने विश्वविद्यालयको विश्वास रहेको बताए ।

८ सेमेस्टरमा पढाइ हुने यो विषयको कुल लागत २ लाख ५ हजार छ । वातावरणीय अनुसन्धान, नीति तहमा प्रभाव, संरक्षण र दिगो विकासका लागि यो विषय थप गरिएको विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र २०, २०८० २१:०९
प्रतिक्रिया
पठाउनुहोस्