असार १२ देखि साउन १० सम्म सञ्चालन हुने प्रदर्शनीमा आधुनिक डिजाइन र डिजिटल नवप्रवर्तनमार्फत ५० भन्दा बढी सांस्कृतिक तथा सिर्जनात्मक कृतिहरू प्रदर्शनमा राखिएका छन् ।
काठमाडौं — काठमाडौंमा ५ हजार वर्ष पुरानो चिनियाँ सभ्यताको एक महिने प्रर्दशनी सुरु भएको छ ।
चिनियाँ परम्परागत संस्कृतिलाई आधुनिक डिजिटल प्रविधि र समकालीन सिर्जनात्मक डिजाइनमार्फत प्रस्तुत गर्ने उद्देश्यले ‘नयाँ सांस्कृतिक तथा सिर्जनात्मक कार्यशाला : डिजिटल गुओछाओ नवप्रवर्तन अभ्यास प्रदर्शनी’ काठमाडौंस्थित चीन सांस्कृतिक केन्द्रमा सुरु भएको हो ।
असार १२ देखि साउन १० सम्म सञ्चालन हुने प्रदर्शनीमा आधुनिक डिजाइन र डिजिटल नवप्रवर्तनमार्फत ५० भन्दा बढी सांस्कृतिक तथा सिर्जनात्मक कृतिहरू प्रदर्शनमा राखिएका छन् ।
बिहीबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालस्थित चीन सांस्कृतिक केन्द्रका निर्देशक लिउ चानपिङले प्रदर्शनी चीन–नेपालबीचको सांस्कृतिक आदान–प्रदानलाई थप सुदृढ बनाउने तथा सांस्कृतिक नवप्रवर्तनमा सहकार्य विस्तारमा महत्वपूर्ण हुने बताए ।
उनले ५ हजार वर्ष पुरानो चिनियाँ सभ्यताको सांस्कृतिक सम्पदालाई डिजिटल प्रविधिसँग जोडेर नयाँ पुस्तासमक्ष प्रस्तुत गरिएको बताए । प्रदर्शनीमा सेरामिक कला, सुचोउ कढाइ (एम्ब्रोइडरी), कपडा कला, तामाका कलात्मक सामग्रीलगायत विविध सिर्जनात्मक कृतिहरू राखिएका छन् ।
ड्रागन बोट पर्व (दुआनवु पर्व) को अवसर पारेर प्रदर्शनीसँगै चिनियाँ परम्परागत परिकार जोंग्जीको स्वाद चखाउने, ताइची प्रदर्शन, परम्परागत गीत–संगीत, नृत्य तथा कविता वाचनका कार्यक्रम पनि आयोजना गरिएको छ । ती नृत्यमा त्रिभुवन विश्वविद्यालय, एलआरआइ स्कुलमा अध्यनरत नेपाली विद्यार्थीले भाग लिएका थिए ।
