राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले आधारभूत मानव अधिकारका सिद्धान्तबारे विशेष प्रस्तुति दिएका थिए ।
काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र विकास बोर्ड र चलचित्र निर्देशक समाजसँगको सहकार्यमा मानव अधिकार चलचित्र केन्द्रले चलचित्रकर्मीहरूलाई मानव अधिकारसम्बन्धी अभिमुखीकरण दिएको छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले आधारभूत मानव अधिकारका सिद्धान्त, अभिव्यक्ति स्वतन्त्रता, लैङ्गिक समानता, बाल अधिकार, गोपनीयताको हक र गैर–भेदभावको विषयमा विशेष प्रस्तुति दिएका थिए ।
उनले चलचित्रको माध्यमबाट मानव अधिकारको सम्मान गर्ने संस्कृतिको विकास गर्न आग्रह गरे ।
आयोगकी सदस्य माननीय लिली थापाले मानव अधिकारको रक्षा र प्रवर्द्धनमा कला र संस्कृतिको भूमिका महत्त्वपूर्ण हुने बताइन् । समाजका विभिन्न पक्षलाई अधिकारको दृष्टिकोणबाट हेर्न र सिर्जनामार्फत सकारात्मक सन्देश प्रवाह गर्न चलचित्रकर्मीहरूलाई उनले आग्रह गरिन् ।
कार्यक्रममा सहभागी निर्देशक, निर्माता, लेखक र कलाकारहरूले सिनेमा केवल मनोरञ्जनको साधन मात्र नभई सामाजिक रूपान्तरणको शक्तिशाली हतियार भएको बताए ।
उनीहरूले सामाजिक मुद्दाहरूलाई चलचित्रमा उतार्दा अनावश्यक सेन्सरसिपमा पर्नुपर्ने समस्याबारे चिन्ता व्यक्त गरेका थिए । सिर्जनात्मक स्वतन्त्रताको रक्षा हुनुपर्ने उनीहरुको तर्क थियो ।
कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा चलचित्रकर्मीहरूको उपस्थिति थियो । आयोजक मानव अधिकार चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्रीले सिनेमाको शक्तिबाट मानव अधिकारको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरे ।
