प्रतियोगितामा विजयी विद्यार्थीले क्रमश: पाँच हजार रूपैयाँ, तीन हजार रूपैयाँ र दुई हजार रूपैयाँ नगद पुरस्कार पाए ।
चितवन — भ्रष्टाचारको विरोधमा चितवनका विभिन्न विद्यालयका विद्यार्थीले कोरेका कार्टुन चित्रहरूको प्रतियोगितात्मक प्रदर्शनी शुक्रबार भरतपुर चौबीसकोठीमा सम्पन्न भएको छ ।
१६ विद्यालयका विद्यार्थीले कोरेका ७० प्रतियोगिसहित ८० चित्रहरू प्रदर्शनीमा सामेल थिए । जसमध्ये शक्तिखोरको चतुर्मुखी माविका विद्यार्थी स्मरण सारू मगरले तयार गरेको कार्टुन चित्र पहिलो भएको छ ।
भ्रष्टाचारविरूद्ध जागरण अभियान नामक संस्थाले बेटर चितवन र जेन-जी चितवनसँग सहकार्य गरेर प्रतियोगितात्मक प्रदर्शनी आयोजना गरेको हो । प्रतियोगितामा भरतपुरको हिमालयन आधारभूत विद्यालयका निश्चल खड्का दोस्रो र राप्ती-८ बजरहट्ठाको बहिरा आवासीय माविकि सुप्रिया लामिछाने तेस्रो भइन् । प्रतियोगितामा विजयी विद्यार्थीले क्रमश: पाँच हजार रूपैयाँ, तीन हजार रूपैयाँ र दुई हजार रूपैयाँ नगद पुरस्कार पाए ।
विद्यार्थीले भ्रष्टाचारलाई कसरी बुझेका छन् ती चित्रमा व्यक्त भएको आयोजक संस्थाका अध्यक्ष जनक बानियाँले बताए । 'विद्यार्थीले भ्रष्टाचारका बारेमा जानकारी पाए, यसका बारेमा राम्रोसँग बुझे उनीहरूले समाजमा यसका विरूद्ध जागरण फैलाउन सक्छन् । चित्रमा उनीहरूले आफ्नो कला पेस गरे । यसले अभियानलाई प्रभावकारी बनाउँछ,' बानियाँले भने ।
