मसी जो बोल्छ

ब्राजिलका कलाकार काको मेनेगाज भन्छन्, ‘ट्याटु भनेको बाहिरी संसारमा भावना देखाउने माध्यम हो, जहाँ म शरीरसँग जोड्ने प्रयास गर्छु ।

वैशाख १, २०८३

मोक्षदा थापा

The ink that speaks

What you should know

काठमाडौँ — कोलम्बियाकी ट्याटु कलाकार क्यामिलाले आफ्नो कलामार्फत महिला, प्रकृति र जनावरप्रति सम्मान व्यक्त गर्छिन् । विशेषगरी उनका ट्याटुहरूमा प्रयोग हुने ‘डट’ले महिलाले बोकेका बिउहरूलाई प्रतीकात्मक रूपमा जनाउँछन् । उनी भन्छिन्, ‘भारतजस्ता देशका महिलाहरू अत्यन्त सिर्जनशील छन् । उनीहरू प्रकृतिबाट प्रभावित हुने गरेका छन् । यसलाई उनीहरूले सिर्जनामा रुपान्तरण गर्ने गर्छन् ।’ उनी पनि यस्तै सोचसहित ट्याटुमार्फत भावना अभिव्यक्त गर्दै आइरहेकी छन् । 

यस्तै, काठमाडौंमा हालै सम्पन्न १३औं अन्तर्राष्ट्रिय नेपाल ट्याटु सम्मेलनमा मलेसियन कलाकार नागाइयाले ‘रक्ताधातु टाटु’ स्टुडियोमार्फत कला प्रस्तुत गरिन् । उनका डिजाइनहरू इबान समुदायको ‘पुआ कुम्बु’ वस्त्रकलाबाट प्रेरित छन् । ‘यी कलाहरू प्रयोग गर्नु अगााडि बोरनियोका महिला बुनकरहरूसँग अनुमति लिन्छु, ताकी कुनै गलत व्याख्या नहोस्,’ उनले भन्ने गरेकी छन् । नागाइयाले प्रयोग गर्ने ‘ह्यान्ड–ट्यापिङ विधि जोखिमपूर्ण मानिन्छ । किनकी यसमा सुईमार्फत ट्याटु बनाउने गरिन्छ । उनका अनुसार, यो विधि बोरनियोमा २ हजार वर्षभन्दाअघिदेखि प्रयोग हुँदै आएको छ । जहाँ मसी परम्परागत रूपमा कोइला वा खरानीमा उखुको रस मिसाएर बनाइन्थ्यो । 

ब्राजिलका कलाकार काको मेनेगाजले ‘सेक्रेड ज्यामिति’ शैलीमा काम गर्छन्, जसमा आध्यात्मिक र प्रतीकात्मक अर्थ भएका रेखा र आकारहरूको प्रयोग हुन्छ । उनले ट्याटुलाई आफ्नो भावना बाहिरी संसारमा देखाउने माध्यमको रुपमा रहेको बताए । उनले भने, ‘ट्याटु भनेको भावना बाहिरी संसारमा देखाउने माध्यम हो, जुन म शरीरसँग जोड्ने प्रयास गर्छु ।’

विश्वभर ट्याटु कला व्यक्तिगत अभिव्यक्ति, भावना र सांस्कृतिक पहिचान अभिव्यक्त गर्ने एक महत्वपूर्ण माध्यमका रूपमा स्थापित छ । नेपालमा पनि यस प्रकारको कला लामो समयदेखि प्रचलनमा रहेकोमा पछिल्ला वर्षहरूमा यसको लोकप्रियता बढिरहेको छ ।The ink that speaks

सानेपास्थित हेरिटेज गार्डेनमा गत २८ देखि ३० चैतसम्म भएको १३औं अन्तर्राष्ट्रिय नेपाल ट्याटु सम्मेलनमा २२ देशका २५० भन्दा बढी कलाकार सहभागी थिए । सम्मेलनमा ९५ वटा ट्याटु बुथ स्थापना गरिएको थियो । सम्मेलनमा लाइभ म्युजिक, खाना स्टल, व्यापारिक स्टल तथा सांस्कृतिक नृत्य प्रदर्शनसमेत समावेश थियो । यो सम्मेलन ट्याटु समुदायलाई सुदृढ बनाउनुका साथै सहभागी कलाकारहरूलाई नेपालको संस्कृति र परम्परासँग जोड्नु मुख्य उदेश्य रहेको आयोजक ‘नेपाल ट्याटु प्राइभेट लिमिटेड’का सञ्चालक ओमप्रकाश गुरुङले बताए । 

सम्मेलनमा ट्याटु कम्पनीका सञ्चालकहरूले पनि प्रतिक्रिया दिएका थिए । मिस्टिक इन्क नेपालका सञ्चालक कमल दुलालले सुरुमा परम्परागत ट्याटुबाट काम सुरु गरेको बताए । पछि नेपाली सांस्कृतिक तत्वहरूबाट पनि प्रेरणा लिन सकिन्छ भन्ने महसुस गरेर विस्तार गरेको बताउँछन् । समाजमा ट्याटुप्रतिको धारणा बदलिएको बताउँदै उनले ट्याटुमा पनि सांस्कृतिक महत्व झल्काउन थाले । १०–१५ वर्षअघि ट्याटुप्रतिको जनधारणा अहिलेको ठीक उल्टो रहेको उनले बताए ।The ink that speaks

गुरुङ पनि अहिले ट्याटुप्रतिको धारणा बदलिएको बताउँछन् । पहिले ट्याटु बनाउँदा मानिसहरू अभिभावकले थाहा पाउने डरले लुक्थे तर अहिले अभिभावकसँगै आउने गरेको उनले बताए । प्रविधिको विकास र जनचेतना वृद्धिसँगै ट्याटु उद्योग अगाडि बढिरहेको उनको भनाइ छ । 

सम्मेलनमा विश्वभरका विभिन्न शैलीका ट्याटुहरू देखाइए पनि नेपालको परम्परागत ट्याटु कला भने न्यून रुपमा प्रस्तुत भएको थियो । थारु समुदायको ‘गोड्ना’ वा नेवारी ‘ल्हा–च्योगु’ जस्ता मौलिक शैलीहरू व्यवसायिक रुपमा झनै ओझेलमा परेका थिए ।

मोक्षदा थापा काठमाडौं पोस्टमा संस्कृति तथा जीवनशैली बिटकी प्रशिक्षार्थी हुन् ।

Link copied successfully