देउडामार्फत अमनाको ‘सांस्कृतिक विद्रोह’

अमनाको जीवनमा धेरै उतारचढाव आए । जेठो छोरो १३ वर्षको हुँदा श्रीमान कमाउन भारत गएका थिए तर एकदिन दैवले नसोचेको बज्रपात पारिदियो । श्रीमानको मृत्युको खबर आयो । अमनाका अगाडि एकातिर सिंगो जीवनको पहाड थियो, अर्कोतिर समाजले कोरिदिएको ‘एकल महिला’ को साँघुरो घेरा ।

फाल्गुन २८, २०८२

मेनुका ढुंगाना

Amana's 'cultural rebellion' through Deuda

What you should know

अछाम — भोट भोटै छ, माल मालै छ, पहाड पहाडै छ 

जिन्दगीले नेटो काट्यो, मनमा बाहाडै छ...

अछामको विकट रामारोशन गाउँपालिका—५ पातलकी ५१ वर्षीया अमना रोकाया जब देउडा खेलमा उभिएर यो टुक्का हाल्छिन्, तब उनको स्वरमा संगीत मात्रै हुँदैन, एउटा सिंगो जीवनको भोगाइ र संघर्षको प्रतिध्वनि सुनिन्छ ।

‘जिन्दगीले नेटो काट्यो’ भनिरहँदा उनका आँखाहरूले विगतका ती तीतामीठा मोडहरू सम्झिन्छन्, जहाँ समाजले कोरेका अदृश्य लक्ष्मणरेखाहरू नाघेर पहिचान बनाइन् । यो उनका लागि गीत मात्र होइन, वर्षौंदेखि मनभित्र दबिएर रहेको भावनाको बिष्फोट समेत हो ।

अमनाको जीवनमा धेरै उतारचढाव आए । जेठो छोरो १३ वर्षको हुँदा श्रीमान् कमाउन भारत गएका थिए तर एकदिन दैवले नसोचेको बज्रपात पारिदियो ।  श्रीमानको मृत्युको खबर आयो । अमनाका अगाडि एकातिर सिंगो जीवनको पहाड थियो, अर्कोतिर समाजले कोरिदिएको ‘एकल महिला’ को साँघुरो घेरा ।

माइतीघर कालिकोटमा सानैदेखि देउडाको लयमा हुर्किएकी उनले छोरी जन्मँदा नाम समेत नहेराउने र छोरा जन्मदा धूमधाम गर्ने विभेदपूर्ण समाज देख्दै आएकी थिइन् । विवाहपछि भने समाजले के भन्ला भन्ने डर र ‘लोग्ने मान्छेसँग जिस्किँदैछे’ भन्लान् भन्ने पीरले उनलाई झन्डै २ दशक घरको चौघेराभित्रै सीमित राख्यो ।

श्रीमानको मृत्युपछि समाजले उनलाई झन् मौन र अदृश्य रहन दबाब दियो ।  तर, मनभित्रको पीडा र जीवनको संघर्षलाई व्यक्त गर्ने माध्यम उनले देउडालाई बनाइन् । सुरुवाती दिनमा यो यात्रा सहज थिएन ।

एकल महिला, त्यसमाथि पुरुषसँग हात समातेर देउडाको खेलमा उभिनुलाई समाजले अस्वाभाविक मात्र मानेन, उनलाई एक प्रकारको बहिष्कार नै गर्न थाल्यो । यो विवाद घरको दैलो नाघेर छोराहरूसम्म पुग्यो ।

समाजको टीका–टिप्पणीले छोराहरूलाई पनि छोयो र उनीहरूले आमालाई देउडा खेल्न नजान आग्रह गरे । तर, अमनाले हिम्मत हारिनन् । उनले छोरा–बुहारीलाई दृढताका साथ सम्झाइन्  । ‘मैले कुनै नराम्रो काम गरेको छैन, यो हाम्रो पुर्ख्यौली कला हो । नियत सफा भएपछि देउडा खेल्दैमा केही बिग्रँदैन भनेर सम्झाएँ,’ अमनाले भनिन् ।Amana's 'cultural rebellion' through Deuda

अमनाको यो अठोटले बिस्तारै परिवारमा मात्र होइन, गाउँका अन्य महिलाहरूमा पनि ऊर्जा भर्न थाल्यो । ‘आइमाई मान्छेले देउडा खेल्नुहुन्न भन्नेहरूकाबीच एउटा सानो टोली नै तयार भएको छ,’ अमनाले भनिन्, ‘म बाहिर निस्किएपछि भतिजी शारदा बोहरा र ५१ वर्षीया देउरानी गौरी रोकायाले पनि साहस बटुले ।’

अहिले यी तीनजनाको टोली अछाम, बाजुरा, डोटी र कालिकोटका देउडा खलाहरूमा निकै परिचित छ । हिजो कुरा काट्ने समाज आज उनीहरूको कला हेर्न झुम्मिने गर्छ ।

यो टोली अहिले व्यावसायिक रूपमा पनि सफल छ । विवाह, व्रतबन्ध, राजनैतिक दलका कार्यक्रम, अन्य सांकृतिक कार्यक्रममा उनीहरूलाई व्यवसायिक रुपमा बोलाउने गरिन्छ । बिहेको सिजन र चुनावको बेला भने उनीहरूलाई देउडा खेल्न भ्याइनभ्याइ हुने गरेको छ । फूलका माला र पैसाका मालाहरूले उनीहरूलाई सम्मान गरिन्छ ।

पहिला रहर अब आम्दानीको बाटो पनि

कतै देउडा खेल्न जानुपर्दा यो टोलीले कम्तीमा ३० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेको छ । आर्थिक रूपमा आत्मनिर्भर मात्र बनाएको छैन, एकल महिला र ग्रामीण महिलाहरूले पनि आफ्नो कला बेचेर सम्मानजनक जीवन जिउन सक्छन् भन्ने उदाहरण पेश गरेको उनको अनुभव छ ।

‘देउडामा माया–प्रेमका कुरा हुनु स्वाभाविक भए पनि हाम्रा लागि यो एउटा पवित्र कला र संस्कृतिको जगेर्ना गर्ने माध्यम हो,’ अमना भन्छिन्, ‘देउडा मेरो लागि ओखती जस्तै बनेको छ, जसले श्रीमान् गुमाउनुको पीडा र एकल महिला हुनुको एक्लोपनलाई भुलाइदिन्छ ।’

एक दशक लामो यो निरन्तरताका बाबजुद समाजको संकुचित तप्काले हेर्ने नजर अझै पूर्ण रूपमा नफेरिएका अमना बताउँछिन् । ‘अमना, शारदा र गौरी त्रिमूर्तिलाई अब कसैको डर छैन,’ उनले भनिन्, ‘हामीले नै प्रमाणित गरिदिएका छौं कि कलाको कुनै जात, धर्म वा अवस्था हुँदैन ।’

रामारोशनका उकाली–ओराली गर्दै सुदूर र कर्णालीमा देउडाको पाइला मिलाउन सजिलो नभएको उनले बताइन् । ‘आँट भए समाजले कोरेका पहाडजस्ता पर्खालहरू पनि गीतका टुक्काले सजिलै भत्काउन सकिन्छ,’ उनले भनिन्, ‘हाम्रो टोली देख्दा धेरैले भन्छन्, सुदूरको देउडा संस्कृतिमा अब महिलाको स्वर झन् बुलन्द हुँदै गएको छ ।’ 

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully