संगी श्रेष्ठको एकल चित्रकला प्रदर्शनीमा ११६ कलाकृति छन्, जसले दर्शकलाई आत्मचिन्तन, स्वतन्त्रता र पहिचान खोज्न प्रेरित गर्छन् ।
काठमाडौँ — नेपाली चित्रकला क्षेत्रमा छुट्टै पहिचान बनाउँदै आएकी कलाकार हुन्, संगी श्रेष्ठ । ठमेल छाया सेन्टरस्थित 'द कला सलुन'मा ‘अन्तर्दृष्टि’ शीर्षकअन्तर्गत उनको एकल कला प्रर्दशनी भइरहेको छ ।
प्रदर्शनीमा उनले समाजमा हराइरहेको पहिचान, व्यक्तिगत अनुभूति र आत्मखोजको कथा चित्रमार्फत व्यक्त गर्न खोजेकी छन् ।
श्रेष्ठका अनुसार, समाजमा थुप्रै विषयवस्तु छन्, तर कलाकारको काम भनेको त्यसमा आफूलाई चिनाउने र खोजी गर्ने हो । उनले भनिन्, ‘एक्लै आएर हेर्नुभयो भने यस चित्रमा आफैलाई भेट्न सक्नुहुन्छ । आफैलाई चिनाउने चित्रले सहयोग गरोस् भन्ने मेरो उद्देश्य हो । ’
उनको क्यानभासमा प्रयोग भएका रङ, आकृति र प्रतीकहरुले पनि यही भावना प्रकट गर्छन् । हरेक आकृति र क्यानभासमा फरक पाउन सकिन्छ । क्यानभासमा फरक–फरक रङको प्रयोग गरेकी छन् कतै रातो, कतै हल्का रङ, कतै उज्यालो, कतै गाढा रङले भावनात्मक गहिराइ दिने उनको भनाइ छ । उनले भनिन्, ‘रङले व्यक्तिको भावना पोखिन्छ, रातो रङलाई स्वतन्त्रताको रङ र गाढा रङले शान्त बन्न प्रेरित गर्छ । ’
उनको क्यानभासमा रातो रङभित्र उडिरहेको पुतलीले स्वतन्त्रताको प्रतीकको रूपमा काम गरेको छ । उनका अनुसार, स्वतन्त्रताका लागि कहिलेकाहीँ आफूलाई बिर्सनुपर्छ । उनले भनिन्, ‘पुतलीले स्वतन्त्रता खोज्छ, र हामीले पनि कहिलेकाहीँ आफ्ना अनुभव र पहिचानलाई पछि राखेर स्वतन्त्रताको खोजी गर्नुपर्छ । ’
श्रेष्ठको कला व्यक्तिगत जीवनसँग गहिरो रूपमा जोडिएको छ । आमाको निधनपछि एक्लोपनले उनलाई आफ्नै पहिचान खोज्न प्रेरित गरेको थियो । यही अनुभूति उनले क्यानभासमा उतारेकी हुन् ।
चित्र केवल कलात्मक सिर्जना नभएर आत्मअनुभूति र खोजीको माध्यम रहेको उनले बताइन् । आफूले आफ्ना सिर्जनामार्फत दर्शकलाई ‘आफ्नो पहिचान खोज्न’ प्रेरित गरेको बताइन् । भनिन्, ‘यस चित्रमा हेरिरहँदा तपाईंले आफूलाई चिन्ने अवसर पाउनुहुनेछ । कलाले हेर्नका लागि मात्र नभई महसुस गर्न र आफ्नो पहिचान खोज्न प्रेरित गर्छ । ’
उनका चित्रका विषयवस्तु विविध छन् । कतिपयमा प्रकृतिको संसार भेटिन्छ- पात, फूल र पुतली । कतिपयमा भावनात्मक अवस्था- पीडा र स्वतन्त्रताका संकेत ।
प्रदर्शनमा क्यानभासदेखि सेरामिकसम्मका १ सय १६ कलाकृति रहेका छन् ।
