सकियो बर्लिनाले, ‘एल्लो लेटर्स’ बन्यो उत्कृष्ट फिल्म 

महोत्सवको ७६औं संस्करणको क्लोजिङ गालामा ‘एल्लो लेटर्स’ फिल्मलाई गोल्डेन बियर प्रदान गरेसँगै यही फिल्म प्रदर्शन गरिएको हो ।

फाल्गुन १०, २०८२

कान्तिपुर संवाददाता

Berlinale is over, 'Yellow Letters' wins best film

What you should know

काठमाडौँ — विश्व प्रतिष्ठित बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सव (बर्लिनाले) ‘एल्लो लेटर्स’ फिल्म देखाउँदै समापन भएकाे छ ।

बर्लिनाले पलास्टमा आयोजित महोत्सवको ७६औं संस्करणको क्लोजिङ गालामा फिल्मलाई गोल्डेन बियर प्रदान गरेसँगै यही फिल्म प्रदर्शन गरिएको हो । 

उत्कृष्ट फिल्मलाई प्रदान गरिने गोल्डेन बियर जितेपछि त्यही फिल्म बर्लिनालेको क्लोजिङमा प्रदर्शन गरिन्छ ।

अवार्ड कार्यक्रममा ‘कुर्तुलुस’ (स्यालभेसन)ले ‘सिल्भर बियर ग्रान्ड जुरी प्राइज’  जित्यो । निकै अध्यात्मिक आस्थासहितको यो फिल्ममा परिवर्तनका लागि आवाज उठाउने एक पात्र कसरी समुदायभित्र एक्लै पारिन्छन् भन्ने कथा समेटिएको छ । त्यस्तै, ‘क्विन एट सी’ले सिल्भर बियर पाउँदा ‘एभ्रीबडी डिग्स बिल इभान्स’का निर्देशक ग्रान्ट गीले उत्कृष्ट निर्देशकका लागि सिल्भर बियर जित्यो । ‘एभ्रीबडी डिग्स बिल इभान्स’मा ज्याज संगीतकारको कथा समेटिएको छ । 

‘रोज’मा गरिएको अभिनयका लागि कलाकार सान्ड्रा हुलरले ‘बेस्ट लिडिङ पर्ममेन्स’का लागि सिल्भर बियर जितिन् । ‘बेस्ट सपोर्टिङ पर्फमेन्स’ भने ‘क्विन एट सी’ले नै जित्यो । जेनेभिभ डुलुलु डेले भने उत्कृष्ट पटकथाका लागि सिल्भर बियर जितिन् । ‘आउटस्यान्डिङ आर्टिस्टिङ पर्फमेन्स’का लागि ‘यो’शीर्षकको फिल्मबाट निर्देशकहरू एना फिच र बैंकर ह्वाइटले सिल्भर बियर उचाले । अवार्ड घोषणा हुँदा र अवार्ड हात परिसकेपछि यी दुई जोडीले एकअर्कालाई चुम्बन गर्दै जीतको खुशी दर्शकसामू साटेका थिए । 

अब्दल्ला अलखतिबले भने ‘क्रोनिकल्स फ्रम द सिज’बाट उत्कष्ट पहिलो फिचर अवार्ड प्राप्त गरे । पेपा लुबोज्याकीले भने फिल्म ‘इफ पिजन्स टर्न्ड टू गोल्ड’बाट बर्लिनाले डकुमेन्ट्री अवार्ड जितिन् । ‘समडे अ चाइल्ड’ले भने उत्कृष्ट लघु फिल्मका लागि गोल्डेन बियर पायो  । ‘अ वुमन्स प्लेस इज एभ्रीहेवर’बाट फ्यान्नी टेक्सियरले सिल्भर बियर जुरी प्राइज पाइन्  । ‘क्लेप्टोमेनिया’ले भने ‘बर्लिनाले सर्ट्स कुप्रा’ अवार्ड पायो । क्लोजिङ कार्यक्रममा अधिकांश विजेताले कला राजनैतिक हुने भन्दै आफ्ना धारणा प्रकट गरेका थिए । महोत्सव निर्देशक ट्रिसा टटलले प्रजातन्त्रको सुन्दर पक्ष नै यसले समेट्ने सबै किसिमको धारणा, आवाज रहेको बताउँदै महोत्सव सँधै प्रजातन्त्रको पक्षमा रहेको बताइन् ।

कान्तिपुर

Link copied successfully