प्रतियोगितामा नारायणी इङ्लिस बोर्डिङ स्कुलका कलश आले मगर सर्वोत्कृष्ट घोषित भए ।
What you should know
नारायणगढ — ओजस थिएटरको प्रस्तुति तथा तरङ्ग नाट्य समूह, चितवनद्वारा आयोजित ‘कर्तव्य’ नाटकमा सहभागी विद्यार्थीहरूका लागि आयोजना गरिएको समीक्षा लेखन प्रतियोगिताको नतिजा माघ ७ गते नारायणी कला मन्दिर, नारायणगढमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
नारायणी कला मन्दिरका अध्यक्ष अनुकूल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष इन्द्रप्रसाद रेग्मी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने अतिथिका रूपमा भरतपुर महानगर प्याब्सनका अध्यक्ष मिनराज बस्ताकोटी र प्याब्सन केन्द्रीय सदस्य श्री कृतिनिधि अर्याल रहेका थिए ।
भरतपुर महानगरभित्रका १७ वटा विद्यालयबाट ४४ जना विद्यार्थी सहभागी भएको उक्त प्रतियोगितामा वीरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक तथा समालोचक श्री रमेशकुमार श्रेष्ठ (रमेश प्रभात) निर्णायकको भूमिकामा रहेका थिए ।
प्रतियोगितामा नारायणी इङ्लिस बोर्डिङ स्कुलका कलश आले मगर सर्वोत्कृष्ट घोषित भए । त्यसैगरी अरोमा इङ्लिस सेकेन्डरी स्कुलकी आश्विनी चापागाईं, बालकुमारी इङ्लिस स्कुलकी मान्यता गुप्ता, स्मल हेभन स्कुल, कल्याणपुरकी विपना अधिकारी तथा प्रेरणा सेकेन्डरी इङ्लिस स्कुलकी साहना क्षत्री उत्कृष्ट घोषित भइन् ।
सर्वोत्कृष्ट विद्यार्थीलाई नगद रु ५,०००, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो भने उत्कृष्ट चार जनालाई जनही रु २,०००, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ ।
पुष्पराज अवस्थीको निर्देशनमा तयार भएको ‘कर्तव्य’ नाटक २०८२ साल मंसिर १, २ र ३ गते नारायणी कला मन्दिर, नारायणगढमा मञ्चन गरिएको थियो । उक्त नाटकमा भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिकाभित्रका ३७ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
