कार्यक्रममा पाका पुस्ताका कलाकार किरण मानन्धर लगायत १२ जना कलाकारहरुले क्यानभासमा आकृति रंग भरेका थिए ।
What you should know
काठमाडौँ — ‘पेन्टिङ कला केवल सौन्दर्यको विषय होइन, यो व्यवसायिक मूल्य र ब्रान्ड पहिचानसँग जोडिन सक्ने सशक्त माध्यम हो’ भन्ने सन्देशसहित ‘नेपाल–जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज’ले आफ्नो वार्षिक साधारणसभामा कलाकार र व्यवसायीलाई एउटै मञ्चमा उभ्याएको छ ।
काठमाडौंस्थित लाजिम्पाटस्थित होटल र्याडिसनमा सोमबार आयोजित चेम्बरको ३० र ३१औं वार्षिक साधारणसभामा स्थलगत चित्रकला (लाइभ पेन्टिङ) मार्फत कला र व्यवसायबीचको सहकार्यलाई मूर्त रूप दिइएको हो ।
कार्यक्रममा पाका पुस्ताका कलाकार किरण मानन्धर लगायत १२ जना कलाकारहरुले क्यानभासमा आकृति रंग भरेका थिए ।
कलाकार किरणको सिर्जनात्मक प्रक्रिया नजिकबाट नियाल्दै नेपाल–जर्मन चेम्बर अफ कमर्सका अध्यक्ष सन्तोषचन्द्र कुँवर र कलाकार अनिता भट्टराईले कला र व्यवसायलाई कसरी एक–अर्कासाग जोड्न सकिन्छ भन्ने विषयमा अग्रसर रहेको बताइन् । कर्पोरेट क्षेत्रलाई कलासँग जोडेर कलालाई व्यवसायिकतातर्फ अगााडि बढाउने अध्यक्ष कुवँरले बताए ।
कार्यक्रमको कला संयोजन गरेकी अनिता भट्टराईका अनुसार कलाकारको मेहनत र सिर्जनशीलताको मूल्य व्यवसायीले महसुश गर्नु यो कार्यक्रम सञ्चालन गरिएको हो, व्यवसायीले कलाकारको कला माया गर्न थाले भने मात्र कला बजार दिगो बन्न सक्दछ ।
अध्यक्ष कुँवरले कला र व्यवसायबीच सहकार्य आवश्यक रहेको बताउँदै पहिलोपटक चेम्बरको साधारणसभामा कलाकारलाई सहभागी गराएर कार्यशाला तथा कलाकृति बिक्रीको वातावरण बनाइएको जानकारी दिए ।
उनले भने, ‘व्यवसायिक क्षेत्रलाई सामाजिक तथा सांस्कृतिक उत्तरदायित्वसँग जोड्ने काम कलाले गर्दछ , यसकारण कलालाई व्यवसायीकरण गर्न आवश्यक छ ।’ ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति समेत रहेका कलाकार किरण मानन्धरले प्रत्यक्ष चित्र कोर्दा दर्शकले रंग, क्यानभास र सिर्जन प्रक्रियालाई नजिकबाट बुझ्ने अवसर पाएको बताए ।
उनले भने, ‘लाइभ पेन्टिङले दर्शहरुले प्रत्यक्ष नियाल्न सक्दछन् कलाकारको मूल्य र मेहनत बुझाउन बुझाउन ठूलो भूमिका खेल्छ ।’ व्यवसायी राजीव मङ्गल जोशीले देशका कलाकार र कलाकृतिको संरक्षण गर्नु व्यवसायिक समुदायको पनि दायित्व भएको उल्लेख गरे । चेम्बरका महासचिव एलेक्स लाल मोक्तानले आगामी दिनमा चेम्बरका अन्य कार्यक्रमहरूमा पनि कलाको सहभागिता बढाइने योजना रहेको जानकारी दिए ।
स्थलगत चित्रकला कार्यशालामा किरण मानन्धरसँगै चिराग वाङ्देल, डिबी राई, सागर मानन्धर, प्रभात श्रेष्ठ, विभूषण ताम्राकार, ओम गुरुङ, विकुकुमार थापा, मन गुरुङ, मङ्गल प्रजापति, सुवास खड्का, श्याम फुयाल र युगदास मानन्धरलगायतका कलाकारले क्यानभासमा रङ्ग भरेका थिए ।
