ललितपुरमा कला कार्यशाला, मंसिर १७ मा प्रदर्शनी गरिँदै

कार्यक्रमबाट अपांगता भएका कलाकारको पहिचान, सिर्जनात्मक क्षमताको प्रवर्द्धन, प्रत्यक्ष आयआर्जन, संस्थाबीच सहकार्य मजबुत बनाउनेजस्ता सकारात्मक उपलब्धि हुने अपेक्षा

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

Art workshop in Lalitpur, exhibition to be held on Mangsir 17

काठमाडौँ — ललितपुर महानगरपालिका र आकार फाउन्डेसनको सहकार्यमा ३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा समावेशी कला कार्यशाला तथा प्रदर्शनी गरिने भएको छ।

अपांगता भएका व्यक्तिहरूको सिर्जनशीलता, आत्मविश्वास र आर्थिक सशक्तीकरणलाई प्रवर्धन गर्ने उद्देश्यसहित यही मंसिर ११ मा कार्यशाला आयोजना गरियो । कार्यशालामा कार्यशालामा ४० जना कलाकारको सहभागिता रहेको आयोजकले बताएको छ।

मंसिर ११ मा कार्यशालामा बनाइएका कलाकृतिलाई मंसिर १७ को प्रदर्शनीमा राखिने आयोजक संस्थाले जानकारी गराएको छ। कला अभिव्यक्तिका माध्यमबाट समावेशी वातावरण विस्तार गर्नु, मौलिक तथा सिर्जनात्मक कलाकृति उत्पादन गर्नु र कलाकारहरूको कौशल तथा आत्मविश्वास अभिवृद्धि गर्नु कार्यशालाको मुख्य उद्देश्य रहेको फाउण्डेशनको भनाइ छ ।

कार्यक्रमले अपांगता दिवसलाई उत्पादन–मुखी ढंगले मनाउन महत्वपूर्ण योगदान दिने आयोजकको विश्वास छ।

ललितपुर महानगरपालिकाअन्तर्गत सबै वडा कार्यालयले कार्यालय प्रयोजनका लागि प्रदर्शनीमा राखिएका कलाकृति खरिद गर्ने व्यवस्था मिलाइने पनि बताइएको छ। बाँकी कलाकृति महानगरपालिकाले स्वयं खरिद गर्नेछ। बिक्रीबाट प्राप्त कुल आयमध्ये ५० प्रतिशत कलाकार र ५० प्रतिशत आकार फाउण्डेशनलाई प्रदान गरिने जनाइएको छ ।  

आयोजकका अनुसार कार्यक्रमबाट अपांगता भएका कलाकारको पहिचान, सिर्जनात्मक क्षमताको प्रवर्द्धन, प्रत्यक्ष आयआर्जन, संस्थाबीच सहकार्य मजबुत बनाउनेजस्ता सकारात्मक उपलब्धि हुने अपेक्षा गरिएको छ।

‘समावेशी कला अभिव्यक्तिलाई संस्थागत गर्न तथा अपांगता भएका व्यक्तिहरूलाई उनीहरूको प्रतिभा प्रदर्शन गर्ने सशक्त अवसर दिन यो सहकार्य महत्वपूर्ण हुनेछ,’ आकार फाउन्डेसनले भनेको छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully