काठमाडौँ — कलाकार किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु भएको छ । ठमेलस्थित म्युजियम अफ नेपाली आर्ट, काठमाडौँ आर्ट हाउस, काठमाडौँ गेष्ट हाउस र केजीएच पाटनमा एकसाथ प्रदर्शनी सुरु भएको हो ।
एनसेल फाउन्डेसनसँगको सहकार्यमा सुरु प्रदर्शनीमा आधा शताब्दी लामो मानन्धरको कलायात्रामा क्रममा सिर्जना गरिएका केही चित्रकलालाई प्रदर्शनीमा राखिएको छ । रङ, रेखा र अराजकताको दशकहरुलाई उजागर गरिएको चित्रकलामा यस अवधिका विविध आयामलाई समेटिएको आयोजक म्युजियम अफ नेपाली आर्टले जनाएको छ ।
'प्रदर्शनीको नाम स्वयं कलाकारकै नाम किरणबाट आएको हो, जसको अर्थ प्रकाश हुन्छ,'म्युजियम अफ नेपाली आर्टका प्रमुख क्युरेटर राजन शाक्यले भने, 'प्रकाशमा फेरि प्रकाश हाल्न आवश्यक छैन, त्यसैले किरण मानन्धर स्वयं प्रकाश हुनुहुन्छ ।'
कलाकार मानन्धरले यस प्रकारका प्रदर्शनीले नेपाली कला र संस्कृतिको प्रवर्द्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । विशेष गरी नयाँ पुस्तामा ज्ञान, सीप र कला हस्तान्तरणमा यसले भूमिका खेल्नेमा उनले विश्वास व्यक्त गरे । 'मैले यस प्रकारका प्रदर्शनी कैयौँपटक आयोजना गरेको छु, यसबाट दर्शकहरुसँग साक्षात्कार गर्ने अवसर प्राप्त हुनुका साथै कला र संस्कृतिबारे ज्ञान साट्ने अवसर प्राप्त हुन्छ,' उनले भने ।
