काठमाडौँ — नेपाल हेरिटेज रिकभरी क्याम्पेन (एनएचआरसी) ले ‘सांस्कृतिक सम्पदा पुनः प्राप्ति सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०२५’ आयोजना गरेको छ ।
एनएचआरसी नेपालको चोरिएका सांस्कृतिक सम्पदाको खोज, पहिचान र पुनः प्राप्तिका लागि क्रियाशील संस्था हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पुरातत्व विभागको सहकार्यमा सोमबारदेखि ललितपुरस्थित साझा साउथ एसिया सेन्टर, पुल्चोकमा भइरहेको छ । ४ गतेसम्म हुने सम्मेलनमा संसारभरबाट चोरिएका, लुटिएका वा अवैध रूपमा निकास गरिएका सम्पदाको फिर्ताबारे छलफल तथा अन्तर्क्रिया हुनेछन् ।
कार्यक्रममा अन्तर्राष्ट्रियस्तरका विज्ञ, अधिवक्ता, नीति निर्माता तथा स्थानीय समुदायका प्रतिनिधिहरूबीच बहस भइरहेको छ । सम्मेलनको पहिलो दिन नेपाल, कम्बोडिया, पोल्यान्ड र भारतबाट चोरिएका सम्पदाका विषयमा सत्र सञ्चालन भएका थिए ।
त्यस्तै, संग्रहालय, लिलामी गृह र अन्तर्राष्ट्रिय कला बजारको भूमिकामाथि पनि छलफल भएका थिए । कार्यक्रमको दोस्रो दिन प्रमुख वक्ता शनि स्टेट युनिभर्सिटी, ओहायोका प्राध्यापक अम्र अल-अजम रहनेछन् । उनी पश्चिम एसियामा भएको सम्पदा चोरीबारे अनुसन्धान गर्दै आएका व्यक्ति हुन् ।
अन्तर्राष्ट्रिय कानुनी संरचना, डिजिटल हस्तक्षेप, संकटमा परेको सम्पदा संरक्षण तथा सरकारहरूको भूमिकामाथि पनि दुई सत्रहरू हुनेछन् ।मंगलबारै कम्बोडियामा हजारौं सम्पदाको फिर्तीमा योगदान गरेका अधिवक्ता मेलिना एन्टोनियाडिस र ब्राडली जे. गोर्डनको प्रस्तुति पनि रहनेछ ।
बुधबार ललितपुरको पुनःस्थापना भएका सम्पदा स्थलहरूको भ्रमण गराइने आयोजकले जनाएको छ । त्यसपछि पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, युनेस्कोका प्रतिनिधि जाको डु टुइट, अमेरिकी दूतावासका माइक हाकर र अस्ट्रेलियन दूतावासका ग्रेग क्लेम सहभागी रहने ‘हेरिटेज डिप्लोमेसी’ विषयक प्यानल छलफल हुनेछ ।
कार्यक्रममा सम्पदासम्बन्धी विभिन्न वृत्तचित्रहरू पनि प्रस्तुत गरिनेछन् ।
