शर्माका एकल चित्रकला प्रदर्शनी सम्पन्न 

जेष्ठ १०, २०८२

आरती पौडेल

Sharma's solo painting exhibition concluded

काठमाडौँ — चित्रकार भीमप्रसाद शर्माको १३ औं एकल चित्रकला प्रदर्शनी शनिबार सम्पन्न भएको छ । योग र अध्यात्मसम्बन्धी चित्रकला प्रदर्शनी आइतबारदेखि काठमाडौंमा सुरु भएको थियो । यसलाई ‘कुन्डलिनी–२’ नाम दिइएको थियो । जसमा शर्माका ३७ वटा चित्र प्रदर्शनमा रहेका थिए । जसमध्ये ११ वटा चित्रहरु बिक्री भएको शर्माले बताए । 

नेपाल पर्यटन बोर्डको आयोजनामा गरिएको चित्रकला प्रदर्शनीमा करिब ५ हजार जनाले अवलोकन गरे । मानिसले सात चक्र र त्यसको साधना कसरी गरिन्छ भन्ने विषयवस्तु समेटेर कोरिएका चित्रकला हेर्न देश तथा विदेशका मानिस आएको शर्माले बताए । 

उनले प्रदर्शनी आफूले सोचेअनुरुप र युवादेखि वृद्धसम्मले उत्साहका साथ अवलोकल गरेको बताए । भन्छन्,‘चित्रकला प्रदर्शनी सोचेअनुरुप भयो । अहिलेको युवा पुस्ताले चित्रकलाप्रति देखाएको प्रेम, मोह देखेर म खुसी र आश्चर्य भएँ । कला, साधनाप्रति मानिसहरुको लगाव र झुकाव देख्दा, रोचकका साथ चित्रका विषयमा र साधनाका विषयमा जान्न खोज्दा निकै नै आत्मसन्तुष्टि मिलेको छ । कार्यक्रम सार्थक बन्यो ।’  

चित्रमार्फत कुण्डलिनीका सात चक्रहरु र त्यसको साधना कसरी गर्छौं भन्ने विषय प्रस्तुत गरिएको थियो । ध्यान, योग र साधनासँग जोडिएका चित्रहरुमा हातको मुद्रादेखि विविध विषय समेटिएका थिए । कार्यक्रममा चित्रकार शर्माले लेखेको ‘कुण्डलिनी योग’ पुस्तकसमेत विमोचन गरिएको थियो ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully