‘देवी’को वीरगन्जमा विशेष स्क्रिनिङ 

जेष्ठ २, २०८२

शंकर आचार्य

Special screening of 'Devi' in Veerganj

पर्सा — वृत्तचित्र ‘देवी’ को बिहीबार वीरगन्जमा विशेष स्क्रिनिङ गरिएको छ । वीरगन्जस्थित क्युफएफएक्स सिनेमामा विशेष दर्शकको समूहबीच ८० मिनेट लामो यो वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

द्वन्द्वकालमा राज्य र विद्रोही पक्षबाट भएका महिलामाथि भएको बलात्कार तथा हिंसाका घटनामा न्याय पाउन माओवादी छापामार, नेतृ तथा पूर्व सांसद देवी खडकाले गरेका संघर्ष तथा त्यसका उपलब्धिका बारेका घटनाक्रम र दृश्यलाई वृत्तचित्रमा देखाइएको छ । 

वृत्तचित्र प्रदर्शनलगत्तै विशेष दर्शकको प्रतिक्रिया लिइएको थियो । चलचित्र पत्रकार संघ पर्साका अध्यक्ष सूर्यनारायण विकले सहजीकरण गरेको उक्त सत्रमा महिला अधिकारकर्मी गुड्डी जोशी, प्राध्यापक डा. सुष्मा तिवारी, नारायणी अस्पतालस्थित ओसिएमसीकी प्रमुख अहेमा थापा, वीरगन्ज जेसिसका अध्यक्ष तथा अधिकारकर्मी सरोज चौरसिया लगायतले देवी खड्कालगायतकाले भोगेका घटना मधेशकै परिवेशमा थुप्रै रहेको र पीडित अझै पनि खुलेर बोल्न र न्यायका लागि आवाज उठाउन नसक्ने अवस्थामा रहेको औँल्याएका थिए । 

मधेश प्रदेश सभा सदस्य रहवर अन्सारीले देवी खड्काले आफ्नो मात्रै नभइ थुप्रै दबिएका महिलाको स्वर उजागर गर्ने साहस देखाएकोमा उनको प्रशंसा गरेका थिए । उनले महिला उपर गरिने हिंसाको कुनै जात, समुदाय र पार्टी पनि नहुने भएकाले त्यसलाई महिला हिंसाकै रूपमा मात्र बुझ्नुपर्ने बताएका थिए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully