ठमेलमा ५० कलाकारका ६० कला प्रदर्शन

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

60 art exhibitions by 50 artists in Thamel

काठमाडौँ — काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ५० कलाकारका ६० कला प्रदर्शनीमा राखिएको छ।

सरोङ आर्ट ग्रुपले सोन्जा आर्ट ग्यालरीसँग सहकार्य गरी होटल आर्ट ठमेलमा तीनदिने कार्यशाला तथा कला प्रदर्शनी आयोजना गरेको हो। उक्त प्रदर्शनीमा नेपाल, भारत र बंगलादेशका ५० कलाकारका कलाकृति प्रदर्शन गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा काठमाडौँ क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले उक्त प्रदर्शनीको उद्घाटन गरे । उनले कला प्रदर्शनीको माध्यमबाट विभिन्न देशबीचको सम्बन्ध थप प्रगाढ भएको बताएका थिए। उनले यस्ता कला प्रदर्शनीले नेपालको कला क्षेत्रको विकासमा समेत सहयोग पुग्ने उल्लेख गरेका थिए।

सोन्जा आर्ट ग्यालरीका अध्यक्ष तथा होटल आर्ट ठमेलका सञ्चालक चिरञ्जीवी भट्टले नेपालको कला क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताएका थिए। सन् २००४ देखि सोन्जा आर्ट ग्यालरीले नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्य गर्दै आएको बताएका थिए।

बंगलादेशका वरिष्ठ फोटोग्राफर डा. इमरान विन युनुसले संस्कृति र प्रकृतिले सुन्दर नेपालमा कला प्रदर्शन गर्नु भारत र बंगलादेशी कलाकारका लागि खुसीको कुरा भएको प्रतिक्रिया दिएका थिए। तीन दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा बंगलादेशका वरिष्ठ कलाकार सफिक अहमद सजिव, अजिजुल कादिर, रफिया अख्तर, भारतीय वरिष्ठ कलाकार रेहेमान पटेल, डा. सुवया याम निला, नारायण सुकम्बरलगायतका चित्र समावेश गरिएको छ।

पाँच देशका छ स्थानमा कला प्रदर्शन गरिसकेको सरोङ आर्ट ग्रुपले सातौँ कला प्रदर्शनी नेपालमा आयोजना गरेको जानकारी समूहकी अध्यक्ष नारगिस सोमाले दिएकी थिइन्। उक्त समूहले यसअघि जापान, श्रीलंका, बंगलादेश र भारतमा कला प्रदर्शन गरिसकेको छ।

कान्तिपुर

Link copied successfully