तिमिल्सेनाले संग्रह गरेको बारपाकको फोटो प्रदर्शनी

वैशाख १३, २०८२

हरिराम उप्रेती

Photo exhibition of Barpak collected by Timilsena

गोरखा — फोटो पत्रकार प्रकाशचन्द्र तिमिल्सेनाले २०७२ वैशाख १२ को भूकम्पपछि १० वर्षको अवधिमा संग्रह गरेका तस्बिरहरुको प्रदर्शनी गरेका छन् । १० औँ भूकम्प स्मृति दिवसको सन्दर्भ पारेर भूकम्पको केन्द्रविन्दु बारपाकमा शुक्रबार उनले फोटो प्रदर्शनी गरेका हुन् । 

फोटो प्रर्दशनीको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन तथा अवलोकन गरेका थिए । बारपाकस्थित हिमालय मावि परिसरमा पत्रकार तिमिल्सेनाले भूकम्पपछि आफैले खिचेका ६० वटा फोटो प्रदर्शनमा राखेका छन् । ‘भूकम्पको बेला बारपाकमा ढलेका घरहरुको भग्नावशेषदेखि पुनर्निर्माणपछि बनेकाहरु सम्मका तस्बिरहरु यहाँ प्रदर्शनमा राखेको छु,’ तिमिल्सेनाले भने,‘यो तस्बिरले भूकम्प लगत्तैको अवस्था पनि झल्काउँछ ।’ 

Photo exhibition of Barpak collected by Timilsena

तस्वीरले हाम्रा संरचना भूकम्प प्रतिरोधी रहे/नरहेको पनि झल्को दिने उनले बताए । ‘भूकम्प अघि बारपाकको सुन्दरता र मौलिकपन छुट्टै थियो, अहिले बारपाक सहरजस्तो भएको छ,’ उनले भने,‘मौलिक घर पनि भूकम्प प्रतिरोधी तवरले बनाउन सकिन्छ, भन्ने एउटा बहस पनि हुन सक्छ ।’ 

प्रदर्शनमा राखिएको तस्वीर बारपाक सुलिकोट गाउँपालिकाको भूकम्प संग्रहालयका लागि उपलब्ध गराउने तिमिल्सेनाले बताए । तिमिल्सेना कान्तिपुर दैनिकको फोटो पत्रकार हुन् ।

Photo exhibition of Barpak collected by Timilsena

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully