काठमाडौँ — परम्परागत कला पौभा र थाङ्का चित्रकलाबारे विमर्श भएको छ । सोमबार नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठाको परम्परागत चित्रकला विभाग र तामाङ पत्रकार संघ काठमाडौं शाखाको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा परम्परागत चित्रकलाको सिर्जना र व्यवसायको पक्षमा विमर्श भएको हो ।
'परम्परागत कलाको आयाम' शीर्षकमा गरिएको विमर्शमा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, पौभा कलाकार तथा लेखक उजय बज्राचार्य, पौभा चित्रकला व्यवसायी सुनिल शाक्य र थाङ्का चित्रकला व्यवसायी अनिल घिसिङ वक्ताका रूपमा सहभागी थिए ।
कलाकार बज्राचार्यले प्रविधि र आधुनिक फ्युजनको हकमा सिर्जनामा केही चुनौती रहेको धारणा राखे । त्यस्तै, परम्परागत चित्रकला विभाग प्रमुख लामाले पौभा र थाङ्का कला विकासका लागि प्रतिष्ठानले समन्वयकारी भूमिका खेलेको बताए । 'पौभा, थाङ्का जस्ता परम्परागत कलाको विकास र विस्तारका लागि हामीले कलाकार, व्यवसायी सबैलाई समेट्ने प्रयास गरिरहेका छौँ । परम्परागत कलाको सिर्जना र व्यावसायिक पाटो दुवै राम्रो होस् भन्ने हाम्रो मनोसाय हो,'उनले भने ।
व्यवसायीहरू शाक्य र घिसिङले परम्परागत चित्रकलाको बजार सन्तोषजनक रहेको बताए । घिसिङले थाङ्का कलामा बजारको स्थिति राम्रो रहे पनि नयाँ पुस्ताका कलाकारको उपस्थिति न्यून रहेको सुनाए । उनले भने, 'नयाँ पुस्ताका कलाकार यसमा आउनुपर्छ भन्ने हो । तर किन आउनु भएन भन्ने चिन्ताको विषय हो ।'
घिसिङको कुरामा सहमत हुँदै व्यवसायी शाक्यले पौभा कलाकारहरुलाई कला सिर्जना गरेर जीवन निर्वाह गर्न सक्ने अवस्था रहेको सुनाउँदै व्यवसायी र कलाकारको सम्बन्ध सुमधुर रहेको तर्क गरे । परम्परागत कलाको विस्तारका लागि समय सापेक्ष चल्नुपर्ने प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको विचार छ । कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ, कलाकार तथा पत्रकार सहभागी थिए ।
