पोखरा — वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपाने आफ्ना गीतका साथ पोखरा सभागृहमा गुञ्जिएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’मा शुक्रबार न्यौपानेले डेढ दर्जन गीत गाएका हुन् ।
सांगीतिक साँझमा न्यौपानेले 'सरर पानीघट्टामा', 'ऐना हेरेर', 'रुन्छ नि मन किन रुँदैन'सहितका १८ गीत गाएका हुन् ।
२०६६ चैत २२ गते पोखरा सभागृहमा ‘पुरुषोत्तम न्यौपाने एकल साँझ’ भएको थियो । ठ्याक्कै १५ वर्षपछि सोही ठाउँमा पुरुषोत्तम गुञ्जिएका हुन् । कार्यक्रममा उनको जीवनीमा तयार पारिएको वृत्तचित्र पनि देखाइएको थियो । उनलाई प्रतिष्ठानले आजै सम्मानसमेत गर्यो ।
२०२९ सालमा स्याङ्जामा जन्मिएका न्यौपाने नेपाली लोकदोहोरी क्षेत्रमा एउटा गर्विलो इतिहास कोर्न सफल भएका छन् । साढे तीन दशकदेखि निरन्तर नेपाली लोकसंगीतमा रहेका न्यौपानेका हजारभन्दा बढी गीत रेकर्ड छन् । पुरुषोत्तमले २०४६ सालमा बलाम देवीथान बोलको गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेका थिए ।
वार्षिक कार्यक्रमअन्तर्गत अग्रज कलाकारका सम्मान र लोककला संरक्षण गर्ने उद्देश्यले उक्त सांगीतिक साँझ आयोजना गरिएको प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले जानकारी दिइन् । प्रतिष्ठानले गत वर्ष ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ आयोजना गरेको थियो । बर्सेनि एक प्रतिष्ठित लोकदोहोरी कलाकारलाई प्रस्तुत गर्ने प्रतिष्ठानको योजना छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गीत, कला, साहित्यको माध्यमबाट समाजलाई सभ्य बनाउन सकियो भने मात्रै मानिस सुखी हुने बताए ।
प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका न्यौपाने अहिले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरामा कार्यक्रम अधिकृतका रुपमा कार्यरत छन् ।
लोक सङ्गीतको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले ०५८ सालमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लोकगीत, सङ्गीत र लोककलाको क्षेत्रमा क्रियाशील हुँदै आएको छ ।
अहिले प्रतिष्ठानको ७ प्रदेश समिति, १ काठमाडौं उपत्यका समन्वय समिति, ७७ जिल्लास्तरीय समिति तथा १० वटा देशमा आफ्ना शाखा समिति छन् ।
