गायिका लोचन भट्टराईलाई रेडियो कान्तिपुरको सम्मान

फाल्गुन २४, २०८१

कान्तिपुर संवाददाता

Singer Lochan Bhattarai honored by Radio Kantipur

काठमाडौँ — रेडियो कान्तिपुरले शनिबार एक कार्यक्रमका बीच वरिष्ठ गायिका एवं संगीतकार लोचन भट्टराईलाई 'सलाम ज्यूँदो इतिहासलाई' नामक कार्यक्रममार्फत सम्मान गरेको छ । 

नेपाली संगीत क्षेत्रमा  पछिल्लो समय छन्द र शास्त्रीय गायनको प्रयोग गर्दै आएकी भट्टराईले भानुभक्तको रामायण र श्रीमद्भगवत् कोमल गीतालाई छन्दमा वाचन गरी सामाजिक सञ्जाल र युट्युबमा उपलब्ध गराएकी छन् । 

सम्मान कार्यक्रममा सरिता शाही, एन्जिला श्रेष्ठ, गीता पाण्डे र शोभा पाण्डेले भट्टराईका टाढा टाढा नभइ जाऊ तिमी, हृदय छोई गरें पूजा, ऊ त गयो माया मारेर, माया गर्नेको चोखो माया लगायत गीतहरु पस्किएका थिए । भट्टराईले नयाँ पुस्ताका गायिकाले आफ्नो गीत अझ राम्ररी गाएको भन्दै उनीहरूको प्रशंसा गरिन् । स्रष्टा सम्मानको श्रृंखलालाई जारी राख्न पनि भट्टराईको सुझाव थियो ।

२०४४ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिने क्रममा भूपेन्द्र रायमाझीको संगीत र शब्दमा टाढा टाढा बोलको गीत गाएर आफू प्रथम हुँदा तारा थापा दोस्रो र सपनाश्री तेस्रो भएको प्रसङ्ग पनि कार्यक्रममा भट्टराईले सुनाइन् । ११ सय भन्दा बढी गीत गाइसकेकी लोचनको सोलो एल्बम संख्या नै १५ छ । जसमा १० वटामा त उनले एकल संगीतसमेत दिएकी छन् ।

बाल्यकालमा जन्मथलो धरान र विजयपुर वरपरका वनजंगल घन्काएर गीत गाउँदा नै रियाज भएको सुनाएकी उनले अचेल तानपुराको मोबाइल एप्लिकेसनमा रियाज गर्ने उल्लेख गरिन् । त्रिभुवन विश्वविद्यालयबाट संगीतमा स्नातकोत्तर गरेकी भट्टराईले भारतको इलाहवादबाट पनि संगीतमै मास्टर्स गरेकी छन् । 

बाल्यकालमै पिता गुमाए पनि विवाहपछि श्रीमान‍्को प्रेरणाले गायनलाई निरन्तरता दिन सकेको भन्दै उनले सबै महिलालाई घर-परिवारबाट सहयोग भए उनीहरु धेरै अघि बढ्न सक्ने बताइन् । महिला दिवसकै दिन रेडियोले आफूलाई सम्मान गरेकामा उनले साधुवाद दिइन् । 

लोचनको स्वर नेपाली आधुनिक, विभिन्न भाषाभाषी, चलचित्रमा पार्श्वगायन हुँदै छन्द कवितासम्म फैलिएको छ । जुनसुकै भाषा पनि शुद्ध उच्चाहरण गर्न माहिर भट्टराईलाई उनको त्यही प्रतिभा देखेर नारायण गोपालले सहकार्य गर्न बोलाएका थिए । नारायण गेपाल स्वर्णिम् सन्ध्यामा लोचनले उनलाई विभिन्न गीतमा साथ दिएकी थिइन् । तर, ‘नारायण दाइ’सँग गीत रेकर्ड गर्ने उनको धोको भने पूरा भएन ।

कान्तिपुर

Link copied successfully