तिलोत्तमा — बुटवलमा सम्पन्न दोस्रो अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ कान्ति मावि 'ख' समूहले उपाधि हात पारेको छ । त्यस्तै, संस्थागततर्फ एभरेष्ट माध्यमिक विद्यालय विजयी भएको छ ।
आइतबार र सोमबार दुई दिनसम्म चलेको प्रतियोगितामा सामुदयिकमध्ये प्रथम भएको कान्ति माध्यमिक विद्यालयले अन्य २६ विद्यालयलाई पछि पारेको हो । त्यस्तै, एभरेष्टले २५ विद्यालयलाई हराउँदै उपाधि चुमेको हो ।
उपाधिसँगै दुवै विद्यालयले जनही ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। सामुदायिकतर्फ सिद्देश्वर लालकुमारी मावि दोस्रो हुन सफल भयो । संस्थागतबाट तिनाउ इंग्लिस बोर्डिङ स्कुलले दोस्रो स्थान प्राप्त गरेको उपमहानगरका उपनिर्देशक दामोदर ज्ञवालीले जानकारी दिए । ती विद्यालयले ५०/ ५० हजार रुपैयाँ पुरस्कार पाएको उनले बताए । प्रतियोगितामा नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालयको 'ख' समूहले तृतीय स्थान हासिल गर्दै ३५ हजार रुपैयाँ पुरस्कार पायो । संस्थागत विद्यालय मध्ये स्कलर्स होम इंग्लिस सेकेन्डरी स्कुलले तृतिय हुँदै ३५ हजार रुपैयाँ पुरस्कार पायो । प्रतियोगितामा सामुदायिक तर्फका भवानी र नवीन औद्योगिक कदरबहादुर रिता मावि 'क' समूहले सान्त्वना स्थान हासिल गरे । संस्थागततर्फ इन्टेलेक्चुअल एकेडेमी र एक्स ब्रीटिस आर्मी स्कुलले सान्त्वना स्थान प्राप्त गर्दै जनही २५/२५ हजार रुपैयाँ पुरस्कार पाए ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपमहानगरका प्रमुख खेलराज पाण्डेयले स्थानीय कला, संस्कृति र परम्परागत पहिचानको संरक्षणका लागि प्रतियोगिता गरिएको उल्लेख गरे । उपमहानगरले लोक संस्कृति, धर्म तथा जातीय परम्पराको संरक्षणका लागि विद्यालय स्तरबाटै अभियान बढाउनुपर्ने ध्येय राखेर गत वर्षदेखि प्रतियोगिता थालिएको बताए ।
