पाँचौं कला साहित्य उत्सवमा पर्यावरण इन्जिनियर वाङचुक आउने

फाल्गुन १२, २०८१

पर्वत पोर्तेल

Environmental engineer Wangchuk will come to the 5th art and literature festival

झापा — प्रख्यात रोमन मेगासेसे पुरस्कार विजेता पर्यावरण इन्जिनियर सोनम वाङचुक झापा आउने भएका छन् । रिडर्स झापाले काँकडभिट्टामा आयोजना गरेको कला साहित्य उत्सवको पाँचौं संस्करणमा ‘किनोट स्पिकर’का रूपमा उनी आउन लागेका हुन् ।

फागुन १४–१६ सम्म आयोजना हुने उत्सवमा यसपटक पर्यावरण विमर्श हुनेछ । 'लद्दाखमा शैक्षिक, सांस्कृतिक र पर्यावरणीय आन्दोलनको नेतृत्व गरिरहेका सोनम १५ फागुनमा झापा आउने छन्,’ रिडर्स झापाका अध्यक्ष शैलेश दाहालले भने, ‘१६ फागुनमा उनको विद्वत् प्रवचन र संवाद कार्यक्रम रहेको छ ।’ 

सोनमले १६ फागुनमा ‘पर्यावरण चिन्तकको मियो’ विषयमा प्रवचन दिनेछन् भने अर्का पर्यावरण वैज्ञानिक उत्तमबाबु श्रेष्ठसँग दोहोरो संवादसमेत गर्नेछन् । उनी त्यसै दिन लद्दाख फर्किने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । 

सोनमले सञ्चालन गरिरहेका सबै अभियानले स्थानीय स्तर र दूरदराजमा पनि पर्यावरणीय आन्दोलन गर्न आममान्छेलाई प्रेरित गर्ने भएकाले कार्यक्रममा निम्तो गरिएको कला साहित्य उत्सवकी संयोजक सञ्जु साम्पाङले बताइन् ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully