जिरीमा टोनी हागनले खिचेका तस्बिर प्रदर्शनी

फाल्गुन ११, २०८१

कान्तिपुर संवाददाता

Exhibition of photographs taken by Tony Hagan at Jiri

काठमाडौँ — स्वीस भूगर्भशास्त्री टोनी हागनले खिचेका सात दशकअघि देखिका नेपाल चिनाउने तस्बिरहरूको प्रदर्शनी शनिबारबाट सुरु भएको छ । दोलखाको जिरी नगरपालिकामा भएको प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।

टोनी हागन फाउन्डेसन र जिरी नगरपालिकाको आयोजनामा भएको तस्बिर प्रदर्शनीको उद्घाटन हागनकी छोरी डा. क्याट्रिन हागनले गरिन् । प्रदर्शनीमा राखिएका तस्बिरहरू अवलोकनपछि जिरी नगरपालिकाले स्वर्गीय हागनलाई सम्झिएकोमा खुसी व्यक्त गरिन् । 

जिरी नगरपालिकाका मेयर मित्र जिरेलले जिरीको विकासमा स्वीजरल्याण्डका जनता र सरकारको ठूलो सहयोग रहेको स्मरण गर्दै स्वीजरल्याण्ड र जिरीबीच घनिष्ठ सम्बन्ध रहेको बताए । 

स्थानीय बुद्धिजीवी तथा जिरी माध्यमिक विद्यालयका पूर्व प्रधानअध्यापक टेक जिरेलले टोनी हागनले जिरीलाई विश्वसामू चिनाउन र जिरीको विकासमा स्वीस सहयोग ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । प्रदर्शनी फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।

Exhibition of photographs taken by Tony Hagan at Jiri

हाडजोर्नी विशेषज्ञ समेत रहेकी डा. क्याट्रिन ह्यागेन फागुन १३ र १४ गते जीरी अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविरमा सहभागी रहनेछिन् ।

जिरीको विकासमा २०१३ सालदेखि नै स्वीजरल्याण्डले सहयोग गरेको थियो । जिरीमा चीज फ्याक्ट्री, गाई अनुवांशिक प्रजनन् केन्द्र, अस्पताल स्थापना तथा व्यावसायिक कृषि विकासका लागि स्वीजरल्याण्डको सहयोग रहेको थियो । पछि जिरी प्राविधिक शिक्षालयको स्थापना र सञ्चालन, जिरीमा एयरपोर्ट निर्माण र लामोसाँघु-जिरी सडक निर्माणमा स्वीजरल्याण्डले सहयोग गरेको थियो ।

Exhibition of photographs taken by Tony Hagan at Jiri

टोनी हागन सन् २००४ सालमा मोहनशम्शेरको निमन्त्रणामा नेपालको विकासमा सहयोग गर्न पहिलोपटक नेपाल आएका थिए ।

पछि संयुक्त राष्ट्र संघका प्रतिनिधिका रूपमा र नेपाल सरकारका कर्मचारीका रूपमा उनले लामो समय नेपालका विभिन्न स्थानको भ्रमणमा बिताएका थिए ।

उनले खिचेका पुराना तस्बिरहरूको वृत्तचित्र ‘उहिलेको नेपाल’ युट्युबमा उपलब्ध छ । यस्तै, उनले लेखेका ‘नेपाल’, ‘विकेन्द्रीकरण र विकास’, ‘नेपालमा मेरो खोजयात्रा’ लगायतका पुस्तक प्रकाशित छन् ।  

कान्तिपुर संवाददाता

Link copied successfully