काठमाडौँ — नेपाल र भारतका गरी ६ वटा नाटक मञ्चन गर्ने गरी आगामी बुधबारदेखि काठमाडौंमा ‘नेपाल–भारत रंग महोत्सव’ हुने भएको छ । उक्त महोत्सवलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले भारतको नयाँदिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालय (एनएसडी) सँगको सहकार्यमा आयोजना गर्न लागेको हो ।
नाटकहरू जमलस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा बुधबारदेखि माघ ३० सम्म साँझ ५ बजेदेखि मञ्चन हुनेछन् ।
‘हामीले पहिलो पटक नाटक महोत्सव गर्न लागेका हौं,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले भनिन्, ‘यो महोत्सवले नेपाल र भारतबीचको सम्बन्धलाई समृद्ध बनाउने विश्वास लिएका छौं । यसले हाम्रा साझा सम्पदा, सिर्जनशीलता र कलाको गहिरो भाषालाई जोड्ने आशा राखेका छौं ।’
महोत्सवमा नेपाल र भारतका तीन–तीन नाटकले सहभागिता जनाएका छन् । जसमा नेपालबाट सुनील पोखरेलको निर्देशनमा ‘गच्छामी’, दिया मास्केको निर्देशनमा ‘कथा कस्तूरी’ र नम्रता केसीको निर्देशनमा ‘जून परिकथा मात्र होइन’ तथा भारतबाट अजयकुमार निर्देशित ‘माई री में का से कहुँ’, राजेश सिं निर्देशित ‘बाबुजी’ र चितरञ्जन त्रिपाठी निर्देशित ‘ताजमहलका टेन्डर’ रहेका छन् ।
