काठमाडौँ — काठमाडौंको बौद्धस्थित तारागाउँ नेक्स्टमा शनिबार साँझ साउथ एसियाका महिला कलाकारहरूका बहुआयामिक कला प्रदर्शनीको उद्घाटन भएको छ ।
भारतबाट चारजना, पाकिस्तान, श्रीलंका र बंगलादेशबाट एक-एकजना र नेपालबाट तीनजना गरी जम्मा दस कलाकारहरूका नारीवादी परिभाषा बोकेका पृथक् कलाहरू प्रदर्शनीमा राखिएका छन् । नेपाली कलाकार अश्मिना रञ्जितको पफर्मेन्स आर्टबाट ४:३० बजे प्रदर्शनीको उद्घाटन भएको हो । कलाकारहरूले आफ्ना सशक्त विचारहरूलाई क्रियटिभ फोटोग्राफी, इन्स्टलेसन आर्ट, डकुमेन्ट्री एवं भिडियो आर्ट, क्राफ्ट, स्कल्प्चर, लगायतका विविध माध्यमबाट व्यक्त गरेका छन् ।
रञ्जितसँगै नेपालबाट उमा विष्ट र विधाता केसीका कलाहरू पनि प्रदर्शनीमा देख्न सकिन्छ । विधाताका 'छोरी मान्छे भएर' शीर्षकका क्राफ्टले समाजमा व्याप्त रुढीवादी मानसिकतामाथि प्रश्न उठाएका छन् । यस्तै, भारतबाट अनिता दुबे, मिथु सेन, पुष्पमाला एन र शेबा छाछीका फोटोग्राफीहरूले पनि पितृसत्ता र स्त्रीद्वेषी सामाजिक व्यवस्था र संस्कारमाथि कटाक्ष गरेका छन् । नारी शरीरलाई फरक कोणबाट परिभाषित गर्ने पाकिस्तानकी नाजिया खानका स्केच र श्रीलंकाकी अनोली पेरेराका विद्रोही फोटोग्राफीहरू पनि तारागाउँका ग्यालरीमा देख्न सकिन्छ । यस्तै, दर्शकलाई सोच्न बाध्य बनाउने बंगलादेशकी तायेबा बेगम लिपीका इन्स्टलेसन आर्ट पनि तारागाउँ नेक्स्टमा आजैबाट प्रदर्शनीमा छ ।
डा. अर्शिया लोखन्डवालाको परिकल्पनामा भएको प्रदर्शनीलाई 'फेमिनिस्ट फ्युचर: आर्ट, एक्टिभिजम र साउथ एसियन वुमनहुड' नाम दिइएको छ । प्रदर्शनीलाई तारागाउँ सांस्कृतिक केन्द्र र सराफ फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेको हो ।
उद्घाटनको दिन साउथ एसियाका उत्कृष्ट दस महिला कलाकारहरूका बहुआयामिक कला हेर्न देश-विदेशका कलाकार, कलाप्रेमी तथा कलासमीक्षकहरूको राम्रो उपस्थिति देखिएको छ ।
