भक्तपुर — रागिनी उपाध्याय कला प्रतिष्ठान बालकोटले हरेक वर्ष एकजना पत्रकारलाई पुरस्कार र दुईजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।
प्रतिष्ठानको शनिबार सम्पन्न बैठकले नेपालमा कलाको विकास, अनुसन्धान र प्रवर्द्धनका लागि प्रोत्साहन गर्न वार्षिक रुपमा एकजना पत्रकारलाई उक्त क्षेत्रमा योगदान पुर्याएबापत १ लाखको पुरस्कार र दुईजना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँको छात्रवृत्ति दिने गरी कोषको स्थापनाको निर्णय गरेको हो । उक्त कोषका लागि सुरुआतमा रागिनी उपाध्याय, भाष्कर कोइराला र सिर्जना राणाले सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पुरस्कार र छात्रवृत्ति हरेक वर्ष नोभेम्बर महिनाको ९ तारिखमा प्रदान गरिने प्रतिष्ठान सचिव प्राध्यापक गोविन्दराज पोखरेलले जानकारी दिए । प्रतिष्ठानमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्याय अध्यक्ष, उपाध्यक्ष स्वर्णिम वाग्ले, सचिव प्रा. पोखरेल, कोषाध्यक्ष सुप्रिया पौडेल छन् ।
सदस्यहरु पत्रकार अखिलेश उपाध्याय, ललितकला क्याम्पसका प्राध्यापक रमेश पोखरेल, पर्यटन तथा होटल व्यावसायी सिर्जना राणा, भाष्कर कोइराला र प्रतिमा थकाली रहेका छन् ।
