पर्सा — नेपाल पिक्चर लाइब्रेरीको आयोजनामा शुक्रबारदेखि वीरगन्जमा ‘सार्वजनिक जीवनमा महिला ः महिलावादी स्मृतिको एक पहल’ नामक फोटो प्रदर्शनी सुरु भएको छ । वीरगन्जस्थित त्रिजुद्ध माविको प्रांगणमा सुरु भएको प्रदर्शनी आइतबारसम्म चल्नेछ ।
लाइब्रेरीका प्रबन्धक दिवसराजा केसीका अनुसार प्रदर्शनी वीरगन्जबाट सुरु हुँदै देशव्यापी बनाइनेछ ।
दृश्य अभिलेख, मौखिक इतिहास र सामुदायिक संलग्नतामार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्ने प्रदर्शनीको उद्देश्य बताइएको छ । ‘प्रदर्शनीमार्फत नेपाली महिलाका सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्त्वलाई स्थापित गर्नु हो,’ केसीले भने, ‘यो देशव्यापी यात्रा विभिन्न सात क्षेत्रमा हुने प्रदर्शनी लुपहरूमा आधारित हुनेछ, जसले ग्रामीण र सहरी क्षेत्रमा महिला इतिहासको अभिलेखलाई पहुँचयोग्य र सान्दर्भिक बनाउँदै ऐक्यबद्धता निर्माण गर्न र महिलाको योगदानलाई संकलन र सम्झना गर्न साझा मञ्च प्रदान गर्नेछ ।’
प्रदर्शनीमा ३ सयभन्दा बढी महिलाले खिचेका ६ सयभन्दा बढी फोटोहरू राखिएका छन् । जसमा मंगलादेवी, साहना प्रधान, अष्टलक्ष्मी शाक्यजस्ता महिला नेतृहरूका भूमिगतकालीन तस्बिरसमेत समेटिएका छन् । सर्वसाधारण नेपाली महिलाको तस्बिरलाई समेत उत्तिकै ग्राह्यता दिइएको छ । प्रदर्शनीमा ‘जनताको माझ महिला’, ‘टुकीमुनिको उज्यालो,’ ‘महिलाका रचना’, ‘संसार डुल्दै,’ र ‘महिलाका महिला’ गरी ५ विधाका फोटाहरू प्रदर्शनीमा छन् ।
प्रदर्शनीसँगै विभिन्न कार्यशाला, छलफलहरू र सामुदायिक संवादहरू पनि चलाइने उल्लेख गर्दै आयोजकले यसबाट महिलावादी इतिहासको समझदारीलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको छ । पहिलो चरणमा वीरगन्जपछि जनकपुर, दोस्रो चरणमा बर्दिया, नेपालगन्ज, तेस्रो चरणमा पोखरा, बागलुङ र पाल्पा, चौथो चरणमा दाङ, रोल्पा, पाँचौं चरणमा इलाम, झापा, छैटौं चरणमा विराटनगर, धरान र भोजपुर तथा सातौं चरणमा बुटवल, भरतपुर र हेटौंडामा प्रदर्शनी आयोजना गरिने केसीले बताए । प्रदर्शनीमा २०७५ सालमा नेपाल पिक्चर लाइब्रेरीको दस्ताबेज र अभिलेख सिर्जनाको पहलबाट सुरु भएर २०८० सालमा पुस्तकको रूपमा पनि प्रकाशित भएको थियो । यो प्रदर्शनीले अहिलेसम्म काठमाडौं, भारतको नयाँदिल्ली र कोची, टर्कीको इस्तानबुल, सिंगापुर र नेदरल्यान्डको ब्रेडालगायतका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थानमा यात्रा गरिसकेको छ ।
