कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विश्वकप छनोट : अञ्जनको कीर्तिमानी गोलमा लाओससँग नेपालको बराबरी

हिमेश

काठमाडौँ — राष्ट्रिय टिमका फरवार्ड अञ्जन विष्टले नेपालका लागि बिहीबार सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् । उनले दशरथ रंगशालामा नेपालका लागि १३ औं व्यक्तिगत गोल पूरा गरे र विश्वकप छनोट प्रारम्भिक चरणको पहिलो लेगको खेलमा नेपालले लाओससँग १–१ को बराबरी खेल्यो ।

विश्वकप छनोट : अञ्जनको कीर्तिमानी गोलमा लाओससँग नेपालको बराबरी

अञ्जनले हरि खड्का र नीराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान बराबरी गरेका हुन् । उनले ४८ औं मिनेटमा एरिक विष्टको कर्नरमा हेड गर्दै गोल गरेका हुन् । सन् २०१९ मा उनले चिनियाँ ताइपेयीविरुद्ध पहिलो गोल गरेका थिए । अब उनीसामु हरि र निराजनलाई उछिनेर नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाउने अवसर हुनेछ ।

लाओसले भने ३३ औं मिनेटमा कफ्तान बौनान बौनकोङको गोलले अग्रता लिएको थियो । पहिलो हाफमा नेपालको प्रदर्शन राम्रो हुन सकेन् र लाओसले त्यसको भरपुर फाइदा लिएको थियो । दोस्रो हाफमा भने नेफालले आक्रामक खेल खेलेको थियो र यसैत्रममा अञ्जनको गोल निस्केको थियो ।

बराबरीको नतिजा नेपालका लागि फाइदाजनक भने रहने छैन् र दबाबमा रहनेछ । नेपालले अब लाओसको भ्रमण गर्नेछ र मंगलबार दोस्रो लेगको खेल हुनेछ । दुई लेगको खेल समाप्ती समग्रमा अगाडि रहने टिमले छनोटको दोस्रो चरणको यात्रा तय गर्नेछ ।

नेपालले यसै वर्ष भएको थ्री नेसन्सकपमा लाओसलाई नै हराएर उपाधि जितेको थियो । नेपालले लिग चरणमा पनि लाओसलाई हराएको थियो । यसपल्ट लाओसले फेरिएको टिम उतारेको थियो र यसक्रममा उसले नेपालसामु बलियो चुनौती पेस गर्न सफल रह्यो ।

प्रकाशित : आश्विन २५, २०८० १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?