कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

इन्जिनियरिङ अध्ययन संस्थान दलीय भागबन्डाको अखडा

डिन, सहायक डिन, क्याम्पस प्रमुख, विभागीय प्रमुखलगायत पदमा कांग्रेस, एमाले र माओवादीबीच भागबन्डा
अतिरिक्त पद सिर्जना गर्दा बढ्यो आर्थिक भार
सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) मा डिन, सहायक डिन, क्याम्पस प्रमुख, विभागीय प्रमुख, सहायक क्याम्पस प्रमुखसम्मको नियुक्ति र जिम्मेवारी पाउन तीन प्रमुख पार्टीबीच भागबन्डा हुने गरेको पाइएको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान दलीय भागबन्डाको अखडा

कतिसम्म भने कांग्रेस, एमाले र माओवादीको भागबन्डा मिलाउन अतिरिक्त पदसमेत सिर्जना गरिएको छ । जसले गर्दा आर्थिक भार बढ्दै गएर आईओई आर्थिक संकटमा छ ।

आर्थिक भार थेग्न भन्दै साउन २५ मा शिक्षण शुल्क वृद्धिको निर्णय गरिएको थियो । उक्त निर्णय विद्यार्थी आन्दोलनको कारणमा तत्कालका लागि रद्द भएको छ । आर्थिक संकट समाधान गर्न खर्च र पद घटाउनुपर्नेमा शुल्क वृद्धिको निर्णय गरिएकामा आईओईकै अध्यापक र विद्यार्थी आक्रोशित छन् । कांग्रेस, एमाले र माओवादीलाई भाग पुर्‍याउनकै लागि मात्र कतिपय पद राखिएको र ती पदमा वर्षौंदेखि भागबन्डा हुँदै आएको उनीहरूको भनाइ छ । ‘आंशिक शिक्षकका रूपमा एक/दुई पिरियड पढाउनसमेत तीन पार्टीको कोटामा पर्नुपर्छ,’ एक सहप्राध्यापकले भने, ‘इन्जिनियरिङ अध्ययन संस्थानमा कुनै पनि पार्टीको टीका नलगाउनेले त पदीय जिम्मेवारी पाउनै सक्दैन ।’ डिन कार्यालयदेखि ५ वटै आंगिक क्याम्पसमा सहायक क्याम्पस प्रमुख र विभागीय जिम्मेवारी लिन कांग्रेस, एमाले र माओवादीको आशीर्वाद प्राप्त गरेको हुनुपर्ने उनले सुनाए ।

डिन शशीधरराम जोशी एमाले कोटाबाट नियुक्त भएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उनी डिन नियुक्त भएको पुल्चोक क्याम्पस अनेरास्ववियुका एक विद्यार्थीले बताए । आईओईको डिन दुई दशकदेखि एमालेको भागमा पर्दै आएको छ । जोशीलाई एमाले कोटामै नियुक्त भएका उपकुलपति धर्मकान्त बाँस्कोटाले डिन नियुक्त गरेका हुन् । उनले क्याम्पस प्रमुख र विभागीय प्रमुख नियुक्ति गर्दा ज्येष्ठता र क्षमतालाई प्राथमिकता दिने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । त्रिवि पदाधिकारीमा दलीय भागबन्डा गरेजसरी नै आईओईमा पनि पदाधिकारी चयन गर्दा मुख्य पार्टीले बाँडीचुँडी गर्दै आएका छन् ।

चार सहायक डिनमा एमालेबाट २ र कांग्रेस, माओवादी कोटामा एक/एक जना छन् । शैक्षिक प्रशासन सहायक डिन विनोद भट्टराई कांग्रेस कोटाबाट चयन भएका हुन् भने एमालेबाट परीक्षा सहायक डिन सुरज लामिछाने र योजना सहायक डिन सुशीलबहादुर वज्राचार्य नियुक्त भएको डिन कार्यालयका एक कर्मचारीले बताए । प्रशासन सहायक डिनमा चिन्तामणि पोखरेल माओवादी कोटाबाट नियुक्त भएका हुन् । कतिसम्म भने लामिछाने नेपाल इन्जिनियरिङ एसोसिएसनमा एमाले प्यानलबाट अध्यक्षको उम्मेदवार थिए । उनी र भट्टराई निजी इन्जिनियरिङ कलेजमा समेत आबद्ध रहेको पाइएको छ । निजी कलेज सञ्चालनको आरोप लागेका अर्का सहायक डिन पोखरेल भने आरोपलाई अस्वीकार गर्छन् । आईओईमा आबद्ध हुनुअघि २०७५ मा निजी कलेजमा संलग्न रहे पनि त्यसयता लगानी र संलग्नता नरहेको उनले बताए । उनी खुला प्रतिस्पर्धाबाट सहप्राध्यापक नियुक्त भएलगत्तै आईओईका अन्य वरिष्ठ प्राध्यापकलाई पछि पार्दै माओवादीबाट सहायक डिन बनेका थिए ।

आईओईमा रहेका १२ वटै विभागमा समेत यिनै तीन पार्टीको भागबन्डामा प्रमुख नियुक्त हुँदै आएको पूर्वविद्यार्थी रमेश केसीले जनाए । हरेक निकाय र नियुक्तिमा भागबन्डा मात्रै हुने गरेको उनको भनाइ छ । पुल्चोक, थापाथली, पोखरा, धरान र चितवनमा सञ्चालित आंगिक इन्जिनियरिङ क्याम्पस प्रमुख पनि कांग्रेस, एमाले र माओवादीको भागबन्डामा मात्रै चयन हुन्छन् । पुल्चोक क्याम्पस प्रमुख कांग्रेस, थापाथली माओवादी, पोखरा एमाले र धरान कांग्रेसको भागमा परेको एक सहप्राध्यापकले सुनाए । धरान केही समयअघिसम्म मधेशकेन्द्रित दलको कोटामा परेको थियो । चितवन इन्जिनियरिङ हालै स्थापना भएको हो ।

दलीय भागबन्डा हुने गरेको डिन जोशी पनि स्वीकार गर्छन् । ‘वर्षौंदेखि त्यसरी नै नियुक्ति हुँदै आएको छ, म आएपछि मात्रै त्यस्तो भएको होइन, मैले मात्र सुधार गर्न सक्ने कुरा पनि भएन,’ उनले भने । भागबन्डा मात्रै भन्दा पनि योग्यता, अनुभवी र पुराना अध्यापकलाई पनि जिम्मेवारी दिने गरिएको उनको तर्क छ । ‘भागबन्डा मात्र हुन्छ भन्न पनि मिल्दैन, क्षमता, अनुभव र पुराना प्राध्यापकले पनि जिम्मेवारी पाउनुहुन्छ,’ जोशीले भने । कान्तिपुरसँग कुराकानी भएका सहायक डिनहरू पनि भागबन्डामा नियुक्ति हुने स्विकार्छन् । भाग पुर्‍याउनभन्दा पनि आवश्यकताको आधारमा पद सिर्जना भएका उनीहरूको दाबी छ ।

सहायक डिन र क्याम्पस प्रमुख डिनको सिफारिसमा कार्यकारी परिषद्ले र विभागीय प्रमुख डिनले नियुक्ति गर्ने व्यवस्था छ । यसले गर्दा आईओईमा हुने गरेको दलीय भागबन्डामा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटा, रेक्टर शिवलाल भुसाल र रजिस्ट्रार पेसल दाहाललगायत पदाधिकारीको संलग्नता देखिन्छ । उपकुलपति बाँस्कोटाले राजनीतिक भागबन्डा नगर्ने दलीय प्रतिबद्धता आए मात्र नियुक्तिमा मापदण्ड लागू गर्न सकिने जनाए । ‘अहिले त हाम्रो भाग खोसियो भनेर विद्यार्थी उचालेर आन्दोलन गर्छन्, मापदण्ड बनाउन खोज्दा पनि लागू गर्न सकिएको छैन,’ उनले भने । क्षमता, अनुभव, ज्येष्ठताका आधारमा अंक छुट्याएर मात्र नियुक्ति दिने मापदण्ड लागू गर्नुपर्ने उनले बताए । प्रधानमन्त्री, शिक्षामन्त्री नै कुलपति, सहकुलपति हुने व्यवस्थाले पनि त्यसको प्रभाव विश्वविद्यालयमा परेको उनको भनाइ छ । ‘राजनीति गर्ने अध्यापकमाथि राज्यका निकायहरूले नै नियमन गरिदिनुपर्छ,’ उनले भने । तर, राजनीतिमा लाग्ने शिक्षक, कर्मचारीलाई कारबाही गर्ने अधिकार विश्वविद्यालयसँग पनि छ ।

दलीय भागबन्डामा नियुक्ति हुने विश्वविद्यालयका पदाधिकारी, डिन, सहायक डिनले क्याम्पसमा पनि त्यसैअनुसार नियुक्ति बाँड्ने गरेको प्राध्यापकहरू बताउँछन् । आईओईका आंगिक क्याम्पसमा ३ जना सहायक क्याम्पस प्रमुख रहने व्यवस्था छ । जसमा कांग्रेस, एमाले र माओवादीबाट नियुक्त हुँदै आएका छन् । डिन कार्यालयदेखि प्रत्येक क्याम्पसमा रहेका विभागमा एक जना प्रमुख र दुई जना उपप्रमुख छन् । तीन पार्टीलाई भागबन्डा पुर्‍याउन विभागमा ३ वटा पदाधिकारी राख्न थालिएको कर्मचारीहरूको दाबी छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कांग्रेसबाट इन्द्रप्रसाद आचार्य प्रमुख छन् । कांग्रेसबाटै सहायक प्रमुख बनेका शुक्रराज पौडेलको पदावधि सकिएपछि त्यही कोटामा नवीनकुमार झालाई गतसाता नियुक्ति दिइएको छ । माओवादीबाट सहायक प्रमुख नियुक्त वंशीराम प्रधानको पनि कार्यालय सकिएपछि त्यही पार्टीबाट अर्को उम्मेदवार खोजी भइरहेको क्याम्पस स्रोतले जनायो । एमालेबाट सहायक क्याम्पस प्रमुखमा लोकनाथ रेग्मी छन् । थापाथली क्याम्पसमा माओवादी कोटाबाट क्याम्पस प्रमुख बनेका जनार्दन भट्टको अवधि सकिएपछि माओवादीबाटै खेम ज्ञवाली नियुक्त भएका छन् । कांग्रेस कोटामा गणेश कुमाल, एमालेबाट हरेराम लिम्बू, माओवादीबाट राजकुमार चौलागाईं सहायक प्रमुख छन् । पुल्चोक र थापाथली क्याम्पसमा रहेका विभागमा समेत यी तीन पार्टीको भागबन्डामा नियुक्ति बाँड्ने गरेको एक विद्यार्थीले बताए । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरामा एमालेबाट निर्मलप्रसाद बराल र पूर्वाञ्चल इन्जिनियरिङ कलेज धरानमा कांग्रेस कोटामा काजीराम कार्की प्रमुख छन् । यी क्याम्पसका उपप्रमुख पनि तीन पार्टीबीच भागबन्डा गरिएको डिन कार्यालयका एक उपप्राध्यापकले बताए ।

प्रकाशित : भाद्र ३१, २०८० ०६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?