२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

काठमाडौँ — नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले सर्वसम्मत अनुमोदित गरेपछि राष्ट्रपति पौडेलले नियुक्त गरेका थिए ।

शपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेलगायत उच्च पदस्थ सरकारी अधिकारीहरु उपस्थित थिए । तर उपसभामुख इन्दीरा रानामगर भने सहभागी भइनन् ।

श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । ०१६ असोज २० मा डोटीको सिलगढीमा जन्मेका श्रेष्ठ ०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका थिए । त्यसको ६ वर्षमै जिल्ला न्यायाधीश भएका उनी ०६२ मा तत्कालीन पुनरावेदन अदालत बाग्लुङको न्यायाधीश भए । ०७० मा पुनरावेदन अदालत पोखराको कायममुकाम मुख्य न्यायाधीश भएका उनी ०७१ मा पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीश भएको करिब दुई वर्षपछि ०७३ साउन १७ मा सर्वोच्च अदालतमा नियुक्त भएका हुन् ।

उनले ०८१ असोज २० मा ६५ वर्षे उमेरहदका कारण अवकाश पाउने छन् । संविधानमा प्रधानन्यायाधीश हुनका लागि सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीश भएको हुनुपर्ने योग्यता तोकिएको छ ।


प्रकाशित : भाद्र ५, २०८० १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?