मोटेल म्यानेजरको हत्यापछि गैर कानुनी रुपमा रहेका आप्रवासीमाथि अब नरम व्यवहार देखाउने समय सकिएको ट्रम्पको चेतावनी

भाद्र ३०, २०८२

टेक्सास– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डालासमा भारतीय मूलका मोटेल म्यानेजर चन्द्र नागमल्लैयाको हत्यापछि अमेरिकामा गैरकानुनी रुपमा रहिरहेका आप्रवासीमाथि निशाना साँधेका छन् । 

उनले आफ्नो सामाजिक सञ्जाल ट्रथ सोशलमा लेखेका छन्, ‘टेक्सासको डालासमा चन्द्र नागमल्लैयाको हत्याको जानकारी पाएँ । उनी एक सम्मानित व्यक्ति थिए । उनकै पत्नी र छोराको अगाडि बर्बरतापूर्ण तरिकाले टाउको काटेर मारिएको छ ।’

उनले यस्तो अपराध गैर कानुनी रुपमा रहँदै आएका क्यूवाका नागरिकले गरेको पनि बताएका छन् । ‘ती व्यक्ति हाम्रो देशमा कहिल्यै पनि हुनुहुन्थेन । पहिला पनि ती व्यक्तिलाई गम्भीर अपराधका लागि पक्राउ गरिएको थियो’ ट्रम्पले भनेका छन् । 

साथै उनले अब गैरकानुनी रुपमा अमेरिकामा बसेका आप्रवासीमाथि नरम व्यवहार गर्ने समय सकिसकेको बताएका छन् । ‘मेरो टिमले अमेरिकालाई फेरि सुरक्षा बनाउनका लागि काम गरिरहेको छ,’ उनको भनाइ छ । 

गत साता टेक्सासको डाउनटाउन सुइट्स मोटेलमा ५० वर्षीय भारतीय मूलका चन्द्र नागमल्लैयाको हत्या गरिएको थियो । प्रहरीका अनुसार यो हत्या वाशिङ्ग मेसिनलाई लिएर भएको विवादपछि भएको हो ।  

Link copied successfully