अमेरिका र क्यानडामा व्यापक हिमआँधी- विश्व - कान्तिपुर समाचार

अमेरिका र क्यानडामा व्यापक हिमआँधी

२० करोडभन्दा बढी प्रभावित
कम्तीमा १९ जनाको मृत्यु
एजेन्सीहरू

वासिङ्टन/टोरन्टो — अमेरिका र क्यानडामा हिमआँधीका कारण कम्तीमा २० करोड मानिस प्रभावित भएका छन् । अधिकारीहरूका अनुसार १९ जनाको मृत्यु भएको छ । चिसो बढेसँगै १२ राज्यमा संकटकालीन कदमहरू चालिएको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

अमेरिकाका कम्तीमा १५ लाख मानिसहरू विद्युत् तथा ऊर्जाको अभावमा बाँच्न बाध्य भएका र सयौं उडानहरू रद्द भएको जनाइएको छ । अमेरिकाको मोन्टाना राज्यको तापक्रम हालसम्मकै सबैभन्दा कम अर्थात् ४५ डिग्री सेल्सियस मापन गरिएको छ ।

अमेरिकाको टेक्सासदेखि क्यानडाको कुबेकसम्म ३ हजार २ सय किलोमिटरभन्दा ठूलो क्षेत्रमा हिमआँधी फैलिएको बीबीसीले उल्लेख गरेको छ । खराब मौसमका कारण मानिसहरूको क्रिसमस योजना बिथोलिएको जनाइएको छ ।

वायुमण्डलीय चाप घटेपछि अमेरिका र क्यानडाको सीमा क्षेत्रका ठूला तालहरू भएको क्षेत्रमा बरफसहित तुफानको अवस्था उत्पन्न भएको छ । क्यानडाका ओन्टारियो र कुबेकले उत्तरी ध्रुवीय विस्फोटको असर भोगेका र ती क्षेत्रमा हजारौं घरमा विद्युत् आपूर्ति बन्द भएको थियो ।

ब्रिटिस कोलम्बियादेखि न्यु फाउन्डल्यान्डसम्मका अधिकांश क्षेत्रमा पछिल्लो समय चिसो निकै बढेको र हिमआँधीको चेतावनी दिइएको छ । अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्लूएस) ले शुक्रबार जारी गरेको मौसमसम्बन्धी जानकारीअनुसार यस वर्षको ‘जाडो हालसम्मकै चिसोमध्येको एक भएको’ बताइएको छ ।

मोन्टाना राज्यको एल्क पार्कको तापक्रम माइनस ४५ डिग्री सेल्सियसमा झरेको र मिसिगन राज्यको हेल सहर पूर्णरूपमा जमेको बीबीसीले जनाएको छ । उक्त सहरमा शुक्रबार रातिको तापक्रम माइनस १७ डिग्री सेल्सियस थियो । सहरको एक स्थानीयले भनिन्, ‘यहाँ निकै चिसो छ । खासमा हामी एक खालको नर्कमा बाँचिरहेका छौं ।’

साउथ डकोटा राज्यमा हिमपात भएको क्षेत्रमा अमेरिकी आदिवासीहरूले इन्धन सकिएपछि चिसोबाट बच्न लुगा बालेर ताप्नुपर्ने अवस्था आएको जनाइएको छ । पेन्सलभेनिया र मिसिगनका अधिकांश क्षेत्रमा पनि भारी हिमपात हुने र न्युयोर्कको बफेलोमा कम्तीमा ३५ इन्चसम्म हिउँ जम्ने बताइएको छ । एनडब्लूएसका अनुसार ८० लाखभन्दा बढी मानिस हिमपातको जोखिममा रहेका छन् ।

न्यु इंग्ल्यान्ड, न्युयोर्क र न्युजर्सीमा तटीय बाढी आएको छ । प्यासिफिक नर्थवेस्टका केही बासिन्दाले सियाटल र पोर्टल्यान्डमा हिउँ जमेका सडकमा आइस–स्केट गरेका देखिएको बीबीसीले उल्लेख गरेको छ । सामान्यतया हलुका चिसो महसुस हुने दक्षिणी राज्यहरू लुजियाना, अलाबामा, फ्लोरिडा र जर्जियामा चिसो निकै बढ्न सक्ने चेतावनी दिइएको छ । चिसो आँधीका कारण सडक दुर्घटनाहरूमा समेत वृद्धि भएको छ । ओहायो राज्यमा दुर्घटनाका कारण कम्तीमा ८ जनाको ज्यान गएको छ ।

उडानहरूबारे जानकारी दिने वेबसाइट फ्लाइट अवेयरका अनुसार शुक्रबार मात्र ५ हजार ९ सयभन्दा बढी अमेरिकी उडान रद्द भएका छन् । त्यसैगरी शनिबारका १ हजार २ सय उडान पनि रद्द गरिएका छन् । एनडब्लूएसले पछिल्लो केही दिनयता दैनिक करिब एक सयवटा मौसमसम्बन्धी रेकर्ड कायम भएको जनाएको छ ।

प्रकाशित : पुस १०, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय कराते माघ अन्तिममा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल सितोरियो कराते संघ जिल्ला प्रमुख डोजो लगनखेलले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता गर्ने भएको छ । माघ २६ देखि २८ सम्म प्रतियोगिता ललितपुर गोदावरीमा गरिने आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले बताए । सिनियर खेलाडीका लागि प्रतियोगिता नभइरहेको स्थितिमा १९ औं एसियाडको तयारी गर्न यसले मदत पुग्ने उनको विश्वास छ ।

प्रतियोगितामा पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ र ८४ केजीमाथि तथा महिलातर्फ ४५, ५०, ५५, ६१, ६८ र ६८ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । दुवैतर्फ एकल र टिम कातामा पनि प्रतिस्पर्धा गराइनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय (आर्मी, पुलिस र एपीएफ) का गरी २ सय ४० खेलाडीले १७ इभेन्टमा प्रतिस्पर्धा गर्ने आयोजक सचिव विनोद महर्जनले जानकारी गराए ।

प्रतियोगिता दोस्रो संस्करणमा हुन लागेको हो । यसलाई चार वर्षसम्मका लागि गोदावरी नगरपालिकाले सहयोग गर्ने भएको छ । त्यसका लागि नगरप्रमुख गजेन्द्र महर्जन र आयोजक अध्यक्ष दीपक श्रेष्ठले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा प्रदेशसभाका नवनिर्वाचित सदस्य तथा राखेपका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, आठौं सागका स्वर्णधारी रवि महर्जनलगायतले विगतको करातेको गौरवशाली छवि कायम राख्न सबै सक्रिय हुनुपर्ने बताउँदै यस्ता प्रतियोगिता त्यसमा सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : पुस १०, २०७९ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×