कहाँ छन् उत्तर कोरियाली नेता किम जोङ उन ?

एजेन्सीहरु

काठमाडौँ — उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको स्वास्थ्य अवस्थाबारे विभिन्न हल्ला फैलिइरहेका बेला उनले प्रयोग गर्ने रेलको स्याटेलाइट तस्बिर सार्वजनिक भएको छ । 

कहाँ छन् उत्तर कोरियाली नेता किम जोङ उन ?

उत्तर कोरियाली मामिलामा विशेष अध्ययन गर्दै आएको वेबसाइट थर्टीएटनर्थडटओआरजीले किमले प्रयोग गर्ने रेलको स्याटेलाइट तस्बिर सार्वजनिक गरेको हो । उत्तर कोरियाको पूवी किनारमा गत हप्तादेखि रेल पार्किङ गरेर राखिएको उसले दाबी गरेको छ । थर्टी एट नर्थले रेलको तस्बिर सार्वजनिक गरे पनि किमको स्वास्थ्य अवस्थाका बारेमा भने केही खुलाएको छैन । उसले पनि दक्षिण कोरियाली सरकारले यसअघि दाबी गरेजस्तै नेता किम प्योङयाङभन्दा बाहिर रहेको संकेत गरेको छ ।

गत १५ अप्रिलमा आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका सबैभन्दा ठूला नेता मानिने किम इल सुङको जन्मजयन्ती समारोहमा सरिक नभएपछि उनको स्वास्थ्य अवस्थाका बारेमा विभिन्न अड्कलबाजी गरिएको छ । त्यस्तै गत शनिबार उत्तर कोरियाली सेनाको स्थापना दिवसमा पनि उनी सहभागी नभएको समाचार सार्वजनिक भएको छ ।

त्यस्तै दक्षिण कोरियाको राजधानीबाट सञ्चालिच डेली एनकेको एक रिपोर्टमा किम प्योङयाङको उत्तरी क्षेत्रको रिसोर्ट काउन्टी अफ् ह्याङसनमा उपचाररत रहेको बताएको थियो । अप्रिल १२ मा किमको मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उनको अवस्था बिग्रेको अपुष्ट समाचार डेली एनएकेले प्रकाशित गरेको थियो । त्यस्तै केही समाचार संस्थाले कोरोना भाइरसको संक्रमणबाट बच्न किम जोङ उन वोनसान गएको पनि बताएका छन् । अहिलेसम्म किम जोङ उनले अप्रिल १५ को समारोह नछुटाएको र त्यसमा अनुपस्थित भएको भन्दै उनको स्वास्थ्य अवस्था बिग्रिएको आशंका गरे पनि अहिलेसम्म आधिकारिक रुपमा कसैले पुष्टि गर्न सकेका छैनन् ।

उत्तर कोरियाली नागरिकले ‘भगवान’ सरह मान्ने नेता किमको स्वास्थ्य अवस्था बिग्रिएको वा केही भवितव्य आइलागेको भए उत्तर कोरियाली नागरिकमात्रै होइन, मुलुककै भविष्यमाथि गम्भीर संकट आइलाग्ने आकलन गरिएको छ । उनी उत्तर कोरियामा शासन गर्ने उनको परिवारका तेस्रो पुस्ता हुन् । सन् २०११ मा बुवा किम जोङ इलको निधनपछि उनले उत्तर कोरियाली सत्ता सम्हालेका थिए । उनको जन्ममिति आधिकारिक रुपमा सार्वजनिक नगरिए पनि उनी सन् १९८४ मा जन्मिएको आकलन गरिएको छ । जनवरी ८ मा उत्तर कोरियामा उनको जन्मदिन भव्यताका साथ मनाइने गरिएको छ ।

उत्तर कोरियाले आफ्ना नेतृत्वको बारेमा पहिलेदेखि नै एकदमै न्यून मात्रामा सूचना सार्वजनिक गर्ने गरेको छ । त्यसैले पनि किमको वास्तविक अवस्था के हो भन्नेबारे यसै भन्न सकिने अवस्था छैन । उत्तर कोरियामाथि जासुसी गर्ने दक्षिण कोरियाली खुफिया एजेन्सीले समेत मिश्रित प्रकारको सूचना प्राप्त गर्ने गरेको छ । सन् २०११ मा किम जोङ इलको मृत्यु हुँदा पनि दुई दिनसम्म उत्तर कोरियाबाहिर कमैलाई मात्र थाहा थियो । उत्तर कोरियाली सञ्चारमाध्यमले दुई दिनपछि सार्वजनिक गरेको समाचारपछि मात्रै उनको मृत्युबारे बाहिरी दुनियाँले थाहा पाएको थियो ।

अमेरिकी अधिकारीहरु पनि उत्तर कोरियाली सर्वोच्च नेताहरुका बारेमा पहिलेदेखि नै यस्ता हल्ला फैलिने गरेकाले यसै भन्न नसकिने बताउँछन् । अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार ड्यानी रसेलका अनुसार किम, उनका बुवा किम जोङ इल र हजुरबुवा किम इल सुङका बारेमा पनि यस्तै अफवाह फैलाइएको थियो, तर पछि ती सबै गलत प्रमाणित भएका थिए ।

विगतमा उत्तर कोरियासँगको वार्तामा महत्वपूर्ण भूमिकासमेत खेलेका रसेल भन्छन्, ‘म सरकारी सेवामा रहँदा विभिन्न खुफिया स्रोतबाट उत्तर कोरियाका नेताका बारेमा कथित दुर्घटना, बिरामी भएको र हत्या प्रयास भएको सूचना आउँथे ।’

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले पनि गत हप्ता किमले उत्तर कोरियालाई सामान्य रुपमा चलाएको र शंकास्पद गतिविधि नभएको स्पस्ट पारेको थियो । साथै पहिचान नखुलाइ सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै दक्षिण कोरियाली सञ्चारमाध्यमले किम वोनसानमा रहेको खुलाएका थिए । त्यस्तै गत शुक्रबार दक्षिण कोरियाली स्रोतको हवाला दिँदै रोयटर्सले किमलाई केही नभएको र छिट्टै नै सार्वजनिक हुने समाचार प्रकाशित गरेको थियो ।

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बिहीबार ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा किमको स्वास्थ्य अवस्थाका बारेमा सार्वजनिक भएका समाचार गलत हुन सक्ने बताएका थिए । ट्रम्पले पत्रकार सम्मेलनमा भनेका थिए, ‘मलाई लाग्छ यी रिपोर्ट सही होइनन् ।’ तर ट्रम्पले उत्तर कोरियाली अधिकारीहरुसँग आफू सम्पर्कमा रहेको वा नरहेको बारे भने केही जानकारी दिएनन् ।

‘चीनबाट चिकित्सकको टोली पठाइयो’

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले किम जोङ उनको स्वास्थ्य अवस्थाबारे बुझ्न र उपचारका लागि चीनले बिहीबार चिकित्सकसहितको टोली पठाएको बताएका छन् । उत्तर कोरिया गएको चिकित्सकसहितको टोली चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने विभागका वरिष्ठ नेताको नेतृत्वमा गएको रोयटर्सले उल्लेख गरेको छ । चीनले उत्तर कोरिया मामिला हेर्ने विभागका उच्च नेतृत्व पठाएको रोयटर्सले उल्लेख गरेको छ । घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै उत्तर कोरिया जाने टोलीको पहिचान खुलाउन स्रोतले नमानेको रोयटर्सले बताएको छ । चिनियाँ अधिकारीले पनि केही दिनअघि उत्तर कोरियाली नेता किमको स्वास्थ्य अवस्था ठीक भएको बताएका थिए ।

उत्तर कोरियाली सञ्चारमाध्यम के भन्छन् ?

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेता किमको स्वास्थ्य अवस्थाका बारेमा विभिन्न अफवाह फैलिए पनि उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले भने यसबारेमा आधिकारिक रुपमा केही जानकारी दिएका छैनन् । उत्तर कोरियाली सरकारी सञ्चार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी(केसीएनए) ले पछिल्लो पटक शनिबार नेता किमले रुसी कम्युनिस्ट पार्टीका अध्यक्ष जीए झुगानोवबाट शुभकामना सन्देश प्राप्त गरेको उल्लेख गरेको छ ।

रुसी कम्‍युनिस्ट पार्टीका अध्‍यक्ष झुगानोवले किमलाई पठाएको सन्देश

रुसी कम्युनिस्ट पार्टीका अध्यक्ष झुगानोवले पठाएको सन्देश किमले अप्रिल २४ मा ग्रहण गरेको केसीएनले उल्लेख गरेको छ । अध्यक्ष झुगानोवले के अवसरमा सन्देश पठाए भनेर उल्लेख गरिएको छैन । तर सन्देशमा रुस र उत्तर कोरियाबीच इतिहासदेखिको सम्बन्ध रहेको उल्लेख गरिएको केसीएनएले जनाएको छ ।

किम जोङ उनले सिरियाली राष्ट्रपति बसर अल असदलाई पठाएको भनिएको सन्देश

त्यस्तै अप्रिल २२ मा उत्तर कोरियाली नेता किम जोङ उनले सिरियाका राष्ट्रपति बसर अल असदलाई धन्यवाद ज्ञापन गरेको पनि केसीएनएले उल्लेख गरेको छ । किम इल सुङको जन्मजयन्तीका अवसरमा असदले पठाएको सन्देशप्रति किमले धन्यवादसहित जवाफी सन्देश पठाएको केसीएनएले जनाएको छ । केसीएनएले दिएको जानकारी मान्ने हो भने किम जोङ उन अप्रिल २४ सम्म सक्रिय नै छन् । ती सन्देश किमले नै पठाएको र प्राप्त गरेको भनेर केसीएनएले उल्लेख गरेको छ ।

त्यस्तै केसीएनएले किम इल सुङको १०८औं जन्मजयन्तीमा विभिन्न देशबाट किम जोङ उनलाई सन्देश प्राप्त भएको र त्यसको नेता किमले धन्यवादसहित जवाफी सन्देश पठाएको उल्लेख गरेको छ ।

तर किम जोङ उनको स्वास्थ्य अवस्था बिग्रिएको हो वा उनी कुनै ग्रामीण भेगमा छन् भन्ने कुरा उत्तर कोरियाली सञ्चारमाध्यमले सार्वजनिक नगरेसम्म पत्याउने कुनै आधार चाहिँ छैन ।

प्रकाशित : वैशाख १४, २०७७ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?