अमेजन डढेलो : ब्राजिलद्वारा सहयोग अस्वीकार 

एजेन्सीहरू

ब्रासिलिया — ब्राजिलले अमेजन वनक्षेत्रमा फैलिएको डढेलो नियन्त्रणका लागि सात ठूला औद्योगिक राष्ट्रहरूको समूहको सहयोग अस्वीकार गरेको छ । 

अमेजन वनक्षेत्र संरक्षणको माग गर्दै मंगलबार भारतको कोलकातास्थित ब्राजिली कन्सुलेट कार्यालयअघि प्रदर्शनमा उत्रेका विद्यार्थी । तस्बिर : रोयटर्स

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले सोमबार जी–७ राष्ट्रले अमेजनको डढेलो नियन्त्रणका लागि ब्राजिललाई ‘प्राविधिक र आर्थिक सहयोग’ गर्ने निर्णय भएको जनाएका थिए । उनका अनुसार जी–७ राष्ट्रहरू ब्राजिललाई तत्काल २ करोड २० लाख डलर सहयोग गर्न सहमत भएका हुन् ।

तर ब्राजिलका मन्त्रीहरूले मंगलबार‘जी–७ को रकम आवश्यक नभएको बताउँदै विदेशी शक्तिले अमेजनमाथि नियन्त्रण कायम गर्न खोजेको’आरोप लगाएका छन् । ब्राजिली राष्ट्रपतिका चिफ अफ स्टाफले भनेका छन्, ‘धन्यवाद, तर सम्भवतःउक्त स्रोत युरोपमा वृक्षरोपण गर्न खर्चिनुसान्दर्भिक हुन्छ ।’

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले यसअघि ‘आफ्नो देशका सार्वभौमिकताको सम्मान’ हुनुपर्ने बताउँदै सहयोग गर्ने निर्णयको आलोचना गरेका थिए । अमेजन वनक्षेत्रमा फैलिएको डढेलो नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायले ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोमाथि दबाब दिएलगत्तै जी–७ नेताहरूले सहयोगको निर्णय गरेका थिए ।

सम्मेलनका क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘एक करोड पाउन्ड उपलब्ध गराउने’ प्रतिबद्धता जनाएका थिए । उनले डढेलो नियन्त्रणका लागि प्राविधिक स्रोतसाधन र आर्थिक सहयोग उपलब्ध गराउनेबारे युरोपका अन्य देशहरूसँग समन्वय गरिरहेको समेत बताएका थिए ।

ब्राजिलको ‘नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्च’ ले ब्राजिलमा यसैवर्षमात्र डढेलोका घटनामा ८२ प्रतिशतले वृद्धि भएको बताएको छ । यद्यपि, बोल्सोनारोले उक्त दाबी अस्वीकार गर्दै बाहिर सार्वजनिक भएजस्तो भयावह स्थिति नभएको बताउने गरेका छन् ।
‘विश्वको फोक्सो’ रूपमा परिचित ‘अमेजनको डढेलो नियन्त्रण गर्न ब्राजिलले कुनै प्रयास नगरेको’ भन्दै आलोचना भएपछि बोल्सोनारोले सेना परिचालनको निर्णय गरेका थिए । बीबीसीका अनुसार उक्त क्षेत्रमा हाल ४४ हजार सेना खटाइएको छ ।
विश्वकै ठूलो ‘रेन फरेस्ट’ अमेजनमा संग्रहित हुने कार्बनले विश्वमा हुने तापमान वृद्धि घटाउँछ । अमेजनमा ३० लाख प्रजातिका वनस्पति तथा वन्यजन्तु छन् । विश्वको २० प्रतिशत अक्सिजन अमेजनले उत्पादन गर्छ ।

बोल्सोनारोले देशका संरक्षित प्राकृतिक क्षेत्र, आदिवासी बसोबास गर्ने भू–भाग र सीमावर्ती क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा लिन सेनालाई आदेश दिएका हुन् ।

ब्राजिलले अमेजनमा फैलिएको डढेलो निभाउने प्रयास नगरे फ्रान्स र आयरल्याण्डले दक्षिण अमेरिकी देशहरूसँगको व्यापार सम्झौता नवीकरण नगर्ने चेतावनी दिएपछि बोल्सोनारो सेना परिचालनका लागि बाध्य भएका हुन् ।

वन क्षेत्रमा ढडेलो फैलिनुमा किसान तथा गोठालाहरूलाई मुख्य जिम्मेवार ठानिएको छ । वन मासेर खेतीयोग्य जमिन बताउनका लागि उनीहरूले जानाजान लगाएका हुन सक्ने आशंकासमेत गरिएको छ । विभिन्न वातावरण सम्वद्ध संस्थाहरूले अमेजन क्षेत्रलाई कृषि र खानीको लागि प्रयोग गर्न दिने बोल्सोनारूको नीतिका कारण पछिल्लो संकट उत्पन्न भएको बताउने गरेका छन् ।

प्रकाशित : भाद्र ११, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्

अन्तरिक्षमा ह्युमनोइड रोबोट 

‘ढिला भएकोमा माफी चाहन्छु । ट्राफिकमा फसें । म काम सुरू गर्न तयार छु ।’
एएफपी

मस्को — रूसले पहिलो मानवाकृत (ह्युमनोइड) रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा स्थापना गरेको छ । ‘फेदोर’ रोबोट मंगलबार आईएसएसमा स्थापित गरिएको अमेरिकी अन्तरिक्ष केन्द्र नासाले पनि पुष्टि गरेको छ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा मंगलबार अवतरण गरेको ह्युमनोइड रोबोट । ॅफेदोर’ रोबोट रूसले गत बिहीबार दक्षिणी कजाकस्तानबाट प्रक्षेपण गरेको हो । तस्बिर : एपी

रूसको यो अभियान गतसाता असफल भएको थियो । मानव शरीर बराबरको फेदो मानिसझैं हिँडडुल गर्न तथा सामान ओसारपसार गर्न सक्छ ।

‘ढिला भएकोमा माफी चाहन्छु । ट्राफिकमा फसें । म काम सुरु गर्न तयार छु,’ रसिक शैलीमा गरिएको रोबोटको टीटरमा लेखिएको छ । रूसी सञ्चारमाध्यमका अनुसार अन्तरिक्ष वैज्ञानिकहरूको काम सघाउने फेदोर अन्तरिक्षमा सेप्टेबर ७ सम्म रहने छ ।

रोबोट फेदोरले गत बिहीबार अन्तरक्षि सोयुज यानमा रहेको कमान्डरको सिटमा बसेर अन्तरिक्ष केन्द्रका लागि उडेको हो । ‘अब जाऔं । अब जाऔं,’ प्रक्षेपणको समयमा फेदोरले पहिलो अन्तरिक्ष यात्री युरी गाग्रिन शैलीमा भनेको थियो । यान दक्षिणी कजाकस्तानबाट प्रक्षेपण गरिएको थियो ।

नासाका एक टिप्पणीकर्ताले भने, ‘सम्पर्क स्थापित भएको छ, रोबोट अन्तरिक्ष केन्द्रमा जोडिएको छ । रूसी अन्तरिक्ष केन्द्र रोसकोसमोसले पनि मानवविहीन सोयुज एमएस–१४ यानको सहयोगमा उक्त रोबोट अन्तरिक्षमा पुर्‍याइएको जनाएको छ ।

अन्तरिक्ष अभियानको प्रत्यक्ष प्रसारण गरेको नासा टीभीका टिप्पणीकर्ताले अन्तरिक्ष केन्द्रमा अब ७ जना पुगेका बताए । यसअघि ६ वैज्ञानिक अन्तरिक्ष केन्द्रमा थिए । यसअघि सोयुज यानले मानिसलाई अन्तरिक्षमा पुर्‍याउने गरेको भए पनि यसपटक रोबोट लिएर गएको हो । यानमा ६७० किलोग्राम सुक्खा सामान पठाइएको छ । जसमा औषधि, उपकरण, खाना, र व्यक्तिगत सरसफाइका सामान छन् ।

अन्तरिक्ष यान प्रक्षेपण कार्यक्रम प्रमुख दिमित्री रोगोजिनले इन्टरफ्याक्स समाचार संस्थासँग कुरा गर्दै अर्को चरणको फेदोर ‘निर्माणाधीन रूसी कार्गो पानीजहाज वा अन्तरिक्षबाहिर गरिने अनुसन्धान कार्य परीक्षणमा’ प्रयोग गरिन सक्ने सम्भावना व्यक्त गरे ।
फेदोर अन्तरिक्षमा पठाइएको पहिलो रोबोट भने होइन । सन् २०११ मा नासाले जेनेरल मोटर्सको सहयोगमा बनाइएको ‘रोबोनट–२’ नामक रोबोट पठाएको थियो । उच्च जोखिमयुक्त स्थानमा काम गर्न प्रयोग गरिएको रोबोटमा प्राविधिक समस्या देखिएपछि सन् २०१८ मा पृथ्वीमा फर्काइएको थियो ।

सन् २०१३ मा जापानले पनि अन्तरिक्षयात्रीसँगै ‘किरोबो’ नामको सानो रोबोट पठाएको थियो । टोयोटाले बनाएको रोबोटले जापानी भाषामा संवाद संग्रहित गर्दथ्यो । सन् १९९८ देखि पृथ्वीको कक्षमा राखिएको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रले प्रतिघण्टा २८ हजार किलोमिटरको गतिमा पृथ्वीलाई घुम्ने गर्दछ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र अमेरिका, रूस, जापान, क्यानडा तथा ११ युरोपेली देश (बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्डस, नर्वे, स्पेन, स्विडेन, स्विटजरल्यान्ड र बेलायत) को संयुक्त परियोजना हो ।

प्रकाशित : भाद्र ११, २०७६ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्