खसोग्गी हत्या प्रकरण : ‘सीआइए रिपोर्ट अपरिपक्व’

एएफपी

वासिङटन/क्यालिफोर्निया — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खसोग्गी हत्याबारे गुप्तचर संस्था सीआईएको रिपोर्ट ‘निकै अपरिपक्व’ भएको प्रतिक्रिया दिएका छन् ।

खसोग्गी हत्या प्रकरण : ‘सीआइए रिपोर्ट अपरिपक्व’

अमेरिकी गुप्तचर संस्था सीआईएले शनिबार खसोग्गी हत्या साउदी युवराज मोहम्मद बिन सलमानको निर्देशन बमोजिम भएको उल्लेख गरेको थियो । ट्रम्पले उक्त घटनाबारे मंगलबारसम्म पूर्ण रिपोर्ट सार्वजनिक भइसक्ने जनाए ।


आगलागीले ध्वस्त क्यालिफोर्निया राज्यको प्याराडाइज सहरको भ्रमणका क्रममा ट्रम्पले अमेरिकी सरकारले मंगलबार खसोग्गी हत्यामा को संलग्न छ भन्ने प्रस्ट पार्ने दाबी गरे । यद्यपि उनले सीआईए रिपोर्टअनुसार हत्यामा ‘सलमान जिम्मेवार रहेको पनि हुनसक्ने’ जनाए ।


यसअघि अमेरिकी विदेश मन्त्रालयले खसोग्गी हत्याबारे निष्कर्षमा पुग्ने कार्य गरिरहेको जनाएको थियो । मन्त्रलायका प्रवक्ता हिथर नुएर्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘खसोग्गी हत्याबारे अझै केही प्रश्न अनुत्तरित छन् ।’


अमेरिकी सञ्चारमाध्यमले शनिबार सीआईएले घटनासँग निकट व्यक्तिहरूले दिएको जानकारीअनुसार आफूहरू घटनामा सलमानको संलग्नता रहेको निक्र्योलमा पुगेको जनाएको समाचार प्रकाशन गरेका थिए । सीआईए अधिकारीले यसबारे थप तथ्यहरूको अध्ययन गरिरहेको समेत जनाइएको थियो ।


अमेरिकी समाचार संस्था वासिङटन पोस्टले सीआईएलाई उद्धृत गर्दै खसोग्गीको हत्या गर्न १५ जना साउदी एजेन्टहरू टर्कीको इस्तानबुलस्थित कन्सुलेट कार्यालय पुगेको जनाएको थियो ।


पोस्टले उक्त रिपोर्ट आंशिक रूपमा मोहम्मद बिन सलमानका भाइ राजकुमार खालिद बिन सलमानले गरेको टेलिफोनमा आधारित भएको जनाएको थियो ।


तर साउदीले सीआईएको दाबी पूर्ण रूपमा गलत रहेको प्रतिक्रिया दिएको छ । उसले ‘खसोग्गी हत्यासम्बन्धी योजनाबारे युवराज सलमानलाई केही थाहा नभएको’ दाबी गरेको छ ।


खसोग्गीको गत अक्टुबर २ मा टर्कीस्थित साउदीको कन्सुलेट कार्यालयमा हत्या गरिएको थियो । हत्यापछि प्रमाण नष्ट गर्न उनको शव एसिडमा घोलिएको टर्कीका अधिकारीको दाबी छ । खसोग्गी युवराज सलमानका कतिपय नीतिका कट्टर आलोचक थिए । टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले उनको हत्यामा साउदी अरबको उच्च तहको संलग्नता रहेको दाबी गर्दै आएका छन् ।

प्रकाशित : मंसिर २, २०७५ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?