बंगलादेशले सुरु गर्‍यो फाइभजी सेवा

फाइभजीमा नेपाल पछि परेको भन्दै मन्त्री गुरुङले नेपाल टेलिकमलाई फाइभजी विस्तारको तयारीमा लाग्न आग्रह गरेका छन् ।

भाद्र १८, २०८२

कान्तिपर सवाददाता

Bangladesh launches 5G service

What you should know

काठमाडौँ — दक्षिण एसियाली देश बंगलादेशले मोबाइल डेटाको पछिल्लो संस्करण, फाइभजी सेवा औपचारिक रूपमा शुरू गरेको छ । त्यहाँका दुई ठूला दूरसञ्चार कम्पनीहरू ग्रामीणफोन र रोबी आक्जिएटाले सोमबारदेखि प्रमुख शहरहरूमा फाइभजीको व्यावसायिक सेवा सञ्चालन  थालेका हुन् ।

प्रारम्भिक चरणमा सबै आठवटा डिभिजन मुख्यालयमा फाइभजीको पहुँच उपलब्ध गराइएको छ । यसलाई स्थानीय सञ्चार माध्यमहरूले बंगलादेशको डिजिटल रूपान्तरणतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन् । 

ग्रामीणफोनका प्रमुख कार्यकारी अधिकृत यासिर आजमले यसलाई 'गौरवको क्षण' भन्दै फाइभजीले देशमा नवीनता, उद्यमशीलता र स्मार्ट समाधानलाई अघि बढाउने बलियो सम्भावना रहेको बताए। रोबीका कर्पोरेट प्रमुख शाहिद आलमले कम्पनीले नोभेम्बरसम्म २०० भन्दा बढी साइटमा विस्तार गर्ने लक्ष्य राखेको उल्लेख गर्दै सञ्चार उपकरण अत्यधिक प्रयोग हुने क्षेत्र र रणनीतिक पूर्वाधारमा प्राथमिकता दिने बताए  ।

बंगलदेशको यो उपलब्धि ऐतिहासिक भए पनि हालका लागि भने प्रारम्भिक विस्तारमा सीमित रहेको बताइन्छ। जीएसएमएको पूर्वानुमानअनुसार सन् २०२५ को अन्त्यसम्म बंगलादेशका जम्मा ६ प्रतिशत मोबाइल प्रयोगकर्ताले फाइभजी सुविधा लिन सक़्नेछन् । रोयटर्सका अनुसार अझै पनि दक्षिण एसियाली देशमा फोरजी सेवाको पहुँचमा चुनौती कायम छ । यहाँ यस वर्षको अन्त्यसम्म आधाभन्दा कम प्रयोगकर्ता मात्र फोरजी नेटवर्क प्रयोग गर्न सक्षम हुने अनुमान गरिएको छ । यस्तै, स्मार्टफोन प्रयोग दर ६९ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ, जुन भारतको ८४ प्रतिशतभन्दा एकदमै कम हो ।

बंगलादेश दूरसञ्चार नियामक आयोगले सन् २०२२ मा १९० मेगाहर्ज स्पेक्ट्रम १.२३ अर्ब अमेरिकी डलरमा लिलामी गरेको थियो । तर, उच्च लागत र सीमित मागको कारण अपरेटरहरूले सन् २०२४ सम्म फाइभजीको व्यावसायिक सञ्चालन गर्न ढिला गरेका थिए ।

दक्षिण एशियाली छिमेकीहरूसँग तुलना गर्दा बंगलादेशको फाइभजी प्रवेश योजनाबद्ध देखिन्छ। भारतले अक्टोबर २०२२ मै फाइभजी शुरु गरेको थियो र अहिले त्यहाँ २५ करोडभन्दा बढी ग्राहक करिब पाँच लाख बेस स्टेसनसहित द्रुतगतिको सञ्चारमा आवद्ध भइसकेका छन् । पाकिस्तानले अझै व्यावसायिक रूपमा फाइभजी सेवा सुरु गरेको छैन तर फाइबर पूर्वाधारमा ठूलो लगानी गरेको छ । माल्दिभ्स र भुटानले पनि सीमित क्षेत्रमा फाइभजी शुरु गरिसकेका छन् भने श्रीलङ्काले आर्थिक संकटबीच पनि सन् २०१९ देखि नै यो सेवाको निःशुल्क परीक्षण गर्दै आएको छ ।

नेपालमा भने फाइभजी सम्बन्धी योजनाहरू लामो समयदेखि अलपत्र छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सन् २०२१ मै परीक्षणका लागि स्पेक्ट्रम प्राप्त गरे पनि व्यावसायिक सेवा शुरु गर्नेतर्फ कुनै उल्लेख्य पहल भएको छैन । नेपाल टेलिकमले सञ्चालन गर्न खोजेको परीक्षण घट्दो दूरसञ्चार बजार र प्रशासनिक जटिलताका कारण अगाडि बढ्न नसकेको जानकारहरूको राय छ । सन् २०२१ देखि नै बारम्बार फाइभजी सेवालाई प्राथमिकता साथ अघि बढाइने घोषणा गरिॅदै आएको भए पनि २०२५ को अन्त्यसम्म पनि नेपाल टेलिकम वा निजी अपरेटर एनसेलले व्यावसायिक फाइभजी सेवा तत्काल शुरु गर्नेतर्फ कुनै ठोस योजना सार्वजनिक गरेका छैनन् । 

सोमबार मात्रै सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एआई प्रयोग गर्न फाइभजी नेटवर्क कार्यान्व्यन अनिवार्य भएकाले नेपाल टेलिकमलाई फाइभजी नेटवर्क सुचारु गर्न निर्देशन दिएका थिए । मन्त्री गुरुङले जनताको घर दैलोमा फोर जी नेटर्वक व्यापक बनाउन पनि आग्रह गरे । 

मन्त्री गुरुङले आफुले प्रधानमन्त्री केपी शर्मा ओलीबीच यसै वर्ष फाइभ जी नेटवर्क शुरु गर्ने वचन दिएको बताउॅदै त्यसको तयारीमा लाग्न नेपाल टेलिकमलाई ध्यानार्कषण गराएका थिए । ‘साउथ एसीयामै फाइभजी नेटवर्क प्रयोग भइसकेको छ, हामी निकै पछि परेका छौँ’, उनको भनाइ थियो, ‘प्रधानमन्त्री र मबीच फाइभ जी नेटवर्क कार्यान्वयन गर्ने विषयमा सम्झौता भइसेकोछ ।’ उनले काठमाडौँ र पोखराबाट फाइभजी को विस्तार गर्ने पनि बताए ।

कान्तिपर

Link copied successfully