बैतडीमा मलामी नपाउँदा शव व्यवस्थापनमा समस्या

खोलाले बगाएर ल्याएको लालमतीको शवलाई मलामीको अभावमा पुनः गाडिएको मृतकका आफन्तले बताए ।

श्रावण १०, २०८३

मोहन चन्द

Problems in managing bodies in Baitadi due to lack of mourners

What you should know

बैतडी — यहाँको पाटन नगरपालिका–५ मा एक दलित समुदायले मलामी नपाउँदा सोही समुदायकी एक महिलाको शव व्यवस्थापनमा समस्या भएको छ । शनिबार सोही वडाको स्याडीखोलामा बेवारिसे अवस्थामा उनको शव भेटिएको थियो । 

प्रहरीले शवको पहिचान गर्दा केही दिनअगाडि मात्रै दागबत्ती दिएर खोला किनारमा गाडिएको बैतडीको सीमपानीकी ६२ वर्षीया लालमती कोलीको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

लालमती कोलीको साउन ५ गते घरमै मृत्यु भएको हो । अन्तिम संस्कारका लागि आफ्नो समुदायमा मलामी नभएपछि शव जलाउन नसकेर खोला किनारमा सामान्य दागबत्ती दिएर गाडेर अन्त्येष्टि गरिएको मृतकका भतिजा नरेश कोलीले बताए । 

कोलीका अनुसार गाउँमा कोली समुदायका आठ घरधुरीको मात्र बसोबास छ । ती घरधुरीका पनि अधिकांश युवा कामका सिलसिलामा भारतमा रहेका कारण अन्त्येष्टिका लागि मलामी र शव बोक्ने मानिस नै नभएको नरेशले बताए । 

‘बच्चासहित ९ जनामात्रै घाटमा पुग्यौं,’ उनले भने, ‘शव जलाउन दाउरा खोजेर चिता बनाउने मान्छे नपुग्दा दागबत्ती दिएर शव गाडेका थियौं, त्यही शव पनि खोलाले बगाइदियो ।’

अन्य समुदायका मान्छेले हाम्रो समुदायको शवलाई छुने प्रचलन नरहेकाले अरू समुदायका मानिस मलामी नआएको उनले बताए । ‘हाम्रो गाउँमा क्षेत्री समुदायका मात्रै नभई दलित समुदायका लुहार, ओड र दमाई परिवारको पनि उल्लेख्य बसोबास छ,’ नरेशले भने, ‘तर हामी एकअर्काको मलामी जाँदैनौं ।’

आफू उपचारका क्रममा जिल्ला बाहिर रहेकाले मृत्यु भएको कुरा थाहा नपाएको र थाहा पाएको भए दाउरादेखि लिएर आवश्यक सबै सहयोग गरिदिने वडाध्यक्ष फनी बोहराले बताए । समुदायमा गलत प्रचलन हटाउनका लागि अब जनचेतनामूलक कार्यक्रम गरिने पनि उनले बताए ।

खोलाले बगाएर ल्याएको लालमतीको शवलाई मलामीको अभावमा पुनः गाडिएको मृतकका आफन्तले बताए । आफ्नै समुदायमा एक जातिका मान्छेको मृत्यु हुँदा अर्को जातिका मान्छेले शव नछुने प्रचलन पाटनमा मात्रै नभई जिल्लाका अरू गाउँबस्तीमा पनि रहिआएको छ ।

गत वर्ष बैतडीकै सिगास गाउँपालिका-१ का प्रकाश टेलर (दमाई)ले आफ्नी ६१ वर्षीया आमाको मलामी नपाएर टाढाबाट आफन्त आउन्जेलसम्म दुई दिन शव कुरेर घरमै बसेका थिए ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully