महाकाली नदीमा पानीको बहाव एक लाख ९ हजार क्युसेक नाघ्यो

बनबासा पुलबाट चार पाङ्ग्रे सवारी आवागमन बन्द।

श्रावण ५, २०८३

हरिश्चन्द्र बाग

Water flow in Mahakali River exceeds 109,000 cusecs

कञ्चनपुर — सुदूर पहाड र भारतको उत्तराखण्डमा निरन्तर वर्षाका कारण महाकाली नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ । जिल्ला विपद् व्यवस्थापन आपतकालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरका अनुसार मंगलबार बिहान ९:०० बजे नेपाल भारत जोड्ने बनबासास्थित शारदा ब्यारेजमा पानीको बहाव १ लाख ९ हजार १८४ क्युसेक मापन गरिएको छ ।

बढ्दो बहावका कारण शारदा ब्यारेज (बनबासा पुल) हुँदै हुने चार पाङ्ग्रे सवारीसाधनको आवागमन बन्द गरिएको छ । यद्यपि अन्य समग्र वस्तुस्थिति सामान्य रहेको आपतकालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ । यसअघि मंगलबार बिहान ३:०० बजे सोही स्थानमा पानीको बहाव ८८ हजार ६९६ क्युसेक रहेको थियो । छ घण्टाको अवधिमा नदीको बहाव झण्डै २० हजार ५ सय क्युसेकले बढेको देखिएको छ ।

सुदूर पहाड र भारतको उत्तराखण्डमा अझै पनि वर्षा भइरहेकाले नदीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै महाकाली नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । नदी किनारमा अनावश्यक आवतजावत नगर्न, जोखिमयुक्त गतिविधि नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी सूचनाको पालना गर्न कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले पनि सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा अझै केही दिन मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । साना नदी, खोला तथा नालामा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।

हरिश्चन्द्र बाग कान्तिपुरका कञ्चनपुर संवाददाता हुन्।

Link copied successfully