बैतडीमा बढ्दै किशोरी आमा, तीन वर्षमै ७ बाट ११ प्रतिशत पुग्यो

भागी विवाह र बालविवाह नियन्त्रणका कानुन प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा समस्या बढ्दै गएको सरोकारवालाको भनाइ छ।

श्रावण ४, २०८३

मोहन चन्द

Teenage mothers on the rise in Baitadi, from 7 to 11 percent in three years

What you should know

बैतडी — स्वास्थ्य कार्यालय बैतडीको पछिल्लो तथ्यांकले जिल्लामा किशोरी आमाको संख्या बढ्दो क्रममा रहेको देखाएको छ । कानुनले २० वर्षमुनिको विवाहलाई निषेध गरे पनि जिल्लामा बालविवाह पूर्णरूपमा रोकिएको छैन । त्यसको प्रत्यक्ष प्रभाव किशोरी गर्भवतीको संख्या बढ्दै जानुमा देखिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा जिल्लाभर रहेका गर्भवतीमध्ये ११ प्रतिशत २० वर्षमुनिका छन् । जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत तथा सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार एक वर्षको अवधिमा जिल्लाभर करिब ३ हजार ६ सय गर्भवतीमध्ये ११ प्रतिशत किशोरी छन् ।

पछिल्ला तीन वर्षको तथ्यांकले किशोरी गर्भवतीको अनुपात निरन्तर बढिरहेको देखाउँछ । आर्थिक वर्ष २०८०/८१ मा यो संख्या ७ प्रतिशत थियो भने गत आर्थिक वर्षमा ९ प्रतिशत पुगेको थियो । चालु आर्थिक वर्षमा यो बढेर ११ प्रतिशत पुगेको कार्कीले बताए ।

स्थानीय तहअनुसार हेर्दा सिगास गाउँपालिकामा २० वर्षमुनिका गर्भवतीको अनुपात सबैभन्दा बढी २१ प्रतिशत रहेको छ । दोगडाकेदार गाउँपालिकामा १६ प्रतिशत, सुर्नया गाउँपालिकामा १३ प्रतिशत, पुर्चौंडी नगरपालिकामा १२ प्रतिशत, मेलौली नगरपालिकामा ११ प्रतिशत, पञ्चेश्वर गाउँपालिकामा १० प्रतिशत, डिलाशैनी गाउँपालिकामा ९ प्रतिशत, शिवनाथ गाउँपालिकामा ८ प्रतिशत तथा दशरथचन्द र पाटन नगरपालिकामा ६–६ प्रतिशत किशोरी गर्भवती रहेका तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्यकर्मीका अनुसार पछिल्लो समय भागी विवाह बढ्दै जाँदा बालविवाह पनि बढेको छ । बालविवाहका कारण सानै उमेरमा आमा बन्नुपर्ने अवस्था सिर्जना हुँदा आमा र शिशु दुवैको स्वास्थ्यमा विभिन्न जटिलता देखिने जोखिम रहने उनीहरूको भनाइ छ ।

सरकारले बालविवाह रोक्न कानुनी व्यवस्था गरे पनि ग्रामीण क्षेत्रमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा समस्या कायमै रहेको सरोकारवालाले बताएका छन् । उनीहरूका अनुसार कानुनको कडाइसँगै समुदायस्तरमा जनचेतना अभिवृद्धि नगरेसम्म बालविवाह र त्यसबाट बढ्दै गएको किशोरी आमाको समस्या न्यूनीकरण गर्न कठिन हुनेछ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully