केदारस्यूँ गाउँपालिका–७, सुगरेमा शनिबार भएको जीप दुर्घटनामा घाइतेलाई हेलिकप्टर मार्फत सुविधायुक्त अस्पताल पठाइँदै छ
बझाङ — केदारस्यूँ गाउँपालिका–७, सुगरेमा शनिबार भएको जीप दुर्घटनामा घाइतेलाई हेलिकप्टर मार्फत सुविधायुक्त अस्पताल पठाइँदै छ । घाइतेमध्ये दुई जनालाई नेपालगन्ज पठाइएको छ भने चार जनालाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाउन लागिएको छ ।
पहिलो चरणमा दुर्गाथली गाउँपालिका–६ का घाइते शिक्षक राम महत र सोही वडाकी स्थानीय हर्का देवी महतलाई नेपालगन्ज पठाइएको जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दीप ओखेडाले बताए ।
त्यसपछिको लटमा सोही वडाका राम महत र जिप चालक केदारस्युँका देव धामीलाई सुर्खेत पठाउन लागिएको उनले बताए । ‘सुताएर लैजानुपर्ने भएकोले एक लटमा दुई जना र उनीहरुका कुरुवा मात्रै पठाउन सकिने रहेछ,’ डा. ओखेडाले भने, ‘घाइतेको गम्भिरता हेरेर पालै पालो पठाइरहेका छौं ।’
शनिबार नै नेपाली सेनाको हेलिकप्टर घाइतेको उद्धारका लागि बझाङ आएको भए पनि खराब मौसमका कारण घटनास्थलमा अवतरण गर्न सकेको थिएन । हेलिकप्टरबाट उद्धार सम्भव नभएपछि घटनाको झण्डै १० घण्टा पनि घाइतेहरुलाई सडक मार्गबाट जिल्ला अस्पताल ल्याइएको थियो ।
दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य १३ जना घाइते भएका थिए । केदारस्यूँको काँडाचौरबाट दुर्गाथली गाउँपालिकाको चुवावनतर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २६६४ नम्बरको बोलेरो जीप शनिबार दिउँसो केदारस्यूँ गाउँपालिका–७ मा दुर्घटनामा परेको थियो।
