उत्तरी सीमाको अनुगमनमा सशस्त्र प्रहरी र नेपाली सेना [तस्बिरहरू] 

सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि तथा सीमाको नियमित अनुगमनका लागि सुरक्षा अधिकारीहरू उरै पुगेका हुन् ।

असार २७, २०८३

वसन्तप्रताप सिंह

Armed Police Force and Nepal Army monitoring the northern border [Photos]

What you should know

बझाङ — सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले बझाङको उरै भञ्जाङमा रहेको नेपाल र चीनको सीमा क्षेत्रमा अनुगमन गरेको छ । वन्यजन्तुका अखेटोपहार र जडीबुटी तस्करी हुने यो नाकामा नियमित अनुगमनको लागि सुरक्षा अधिकारीहरू पुगेका हुन् । 

बझाङस्थित सम्सेरदल गुल्मका सेनानी निर्मलकुमार खड्काको नेतृत्वमा नेपाली सेनाका २० जना र सशस्त्र प्रहरी बझाङका प्रमुख डीएसपी उज्जल लामिछानेको नेतृत्वमा सशस्त्र प्रहरी बलका नौ जना गरी १९ जनाको टोलीले सीमा क्षेत्र तथा जडीबुटी संकलन क्षेत्रको अनुगमन गरेको हो ।  

Armed Police Force and Nepal Army monitoring the northern border [Photos]

सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिहरू तथा सीमाको नियमित अनुगमनका लागि सुरक्षा अधिकारीहरू उरै पुगेको डीएसपी लामिछानेले बताए । आठ दिन पैदल यात्रा गरेर उक्त टोली समुन्द्र सतहदेखि ५ हजार २ सय २० मिटरको उचाइमा रहेको नेपाल चिन सीमा पिलर नं २ सम्म पुगेको थियो । 

Armed Police Force and Nepal Army monitoring the northern border [Photos]

यस क्रममा सुरक्षाकर्मीको टोलीले बाटोमा पर्ने साइपाल गाउँपालिकाका विभिन्न गाउँका स्थानीयसँग अन्तर्क्रिया र छलफल समेत गरेको लामिछानेले बताए । टोलीले साइपाल गाउँपालिका–४ स्थित धुली माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लागुऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको थियो । अनुगमनमा जाने क्रममा उत्तरी क्षेत्रको अन्तिम गाउँ धुलीका स्थानीय बासिन्दाहरूलाई खाद्यान्न, औषधी र अक्सिजन क्यान वितरण गरिएको, नेपाल चीन सीमा नजिक कालङगामा बस्ने गोठालाहरूलाई खाद्यान्न, औषधी र अक्सिजन क्यान वितरण गरिएको तथा इगल्दारका जडीबुटी संकलकहरुलाई व्यक्तिगत सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत गरिएको थियो । यस्तै, अनुगमन टोलीले साइपाल गाउँपालिका जनप्रतिनिधि, कर्मचारी पदाधिकारी तथा सर्वसाधारण जनतालाई आगलागी नियन्त्रणसम्बन्धी सम्बन्धी नमुना अभ्यास पनि प्रस्तुत गरेको थियो । 

Armed Police Force and Nepal Army monitoring the northern border [Photos]

अनुगमनका क्रममा स्थानीय र जनप्रतिनिधिहरूले परम्परादेखि भोट औल व्यापार र तीर्थयात्रा गर्ने उरै भञ्जाङ नाकामा चीन सरकारले प्रवेश रोक लगाउँदा र चरिचरनमा कडाइ गर्दा समस्या भइरहेको स्थानीयले गुनासो गरेको लामिछानेले बताए । ‘वर्षौंदेखि मानसरोवरको जल ल्याउन नपाउँदा कुल पूजाहरु पनि रोकिएको गुनासो समेत आएको छ,' लामिछानेले भने, ‘यो विषयमा सीमावर्ती समकक्षीहरूको बैठक गर्नका लागि पहल गर्ने प्रयास भइरहेको छ ।'

Armed Police Force and Nepal Army monitoring the northern border [Photos]

कोरोना महामारीपछि चीनले तिब्बतको मानसरोवर तालमा प्रवेश रोक लगाउँदा बझाङका स्थानीयको कुल पूजा सात वर्षदेखि ठप्प छ । यस्तै, बर्खायाममा तिब्बत क्षेत्रका वनमा चरिचरनका लागि भेडाच्याङग्रा तथा चौरीहरु लैजाने परम्परादेखि चल्दै आएको अभ्यासमा पनि चिनियाँ सुरक्षाकर्मीले अवरोध गर्ने र गोठालाहरुमाथि दुर्व्यवहार गर्ने गरेका कारण पशुवस्तु लगेर तिब्बत जान पनि स्थानीयहरू असुरक्षित महसुस गर्न थालेका छन् । 

Armed Police Force and Nepal Army monitoring the northern border [Photos]

मानसरोवर तालको जल ल्याएर मन्दिरमा चढाएपछि मात्रै पूजा सम्पन्न हुने परम्परादेखि चल्दै आएको धार्मिक कार्य रोकिएको र चरिचरनका क्रममा चिनियाँ पक्षबाट हुने दुर्व्यवहार लगायत अन्य विषयमा चीनको सीमावर्ती क्षेत्र अधिकारीसँग समन्वय गर्न बझाङ प्रशासनले केही वर्षदेखि प्रयास गरेको भए पनि सफल हुन सकेको छैन । ‘चीन र नेपालबीच भएका विभिन्न सम्झौताहरुमा पनि सीमावर्ती क्षेत्रका बासिन्दालाई तीर्थयात्रा, चरिचरन र परम्परागत गतिविधि गर्न दिइने कुरा उल्लेख छ । तर द्विपक्षीय छलफल हुन नसक्दा जिल्लावासीले दु:ख पाइरहेका छन्,' बझाङका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भने, ‘यही जुलाई महिनाभित्र पुराङ काउन्टी र बझाङका सुरक्षा अधिकारीबीच बैठक गरेर समस्या समाधान गर्नको लागि परराष्ट्र मन्त्रालयमार्फत पहल भइरहेको छ,' उनले परराष्ट्र मन्त्रालयले चिनियाँ दूतावाससँग समन्वय गर्दा बैठकको मिति लगभग निश्चित भइसकेको बताउँदै सीमामा हुने परम्परागत गतिविधि कोरोनाअघिकै अवस्थामा फर्काउने प्रयास भइरहेको बताए । 

उरै नाकामा वन्यजन्तुका अखेटोपहार, जडीबुटी र अन्य अवैध कारोबार रोक्नका लागि सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट (बीओपी) स्थापना लागि गत वर्ष नै गृह मन्त्रालयबाट स्वीकृत भइसकेको भए पनि जग्गा उपलब्ध नहुँदा स्थापना हुन सकेको छैन ।  

चिनियाँ अवरोधका कारण सदियौंदेखि चल्दै आएको धार्मिक, व्यापारिक र चरिचरनसम्बन्धी अभ्यास बन्द हुँदा समस्या भएको भन्दै यो विषयमा बझाङका प्रतिनिधिसभा सदस्य ऐन महरले यो विषयमा संसद्मा सरकारको ध्यानाकर्षण समेत गराएका थिए । संसद्‌मा बोल्दै उनले भनेका थिए, ‘नेपाल सरकारले आवश्यक कूटनीतिक पहल गरी ताक्लाकोट र मानसरोवरसम्म बझाङका बासिन्दालाई सहज आवतजावतको व्यवस्था मिलाउन ध्यानाकर्षण गर्न चाहन्छु ।'

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully