साइपालका उत्पादन बेच्न चैनपुरमा खुल्यो ‘अर्गानिक कोसेली घर’

साइपालका स्थानीय कृषकले उत्पादन गरेका अर्गानिक बाली र जडीबुटी अब सजिलै चैनपुरमै पाइने भएपछि उपभोक्ता र किसान दुवै लाभान्वित हुनेछन्।

असार २६, २०८३

वसन्तप्रताप सिंह

‘Organic Koseli Ghar’ opens in Chainpur to sell products from Saipal

What you should know

बझाङ — जिल्लाकै दुर्गम र क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो हिमाली पालिका साइपालका अर्गानिक उत्पादन अब बझाङ सदरमुकाम चैनपुरमै किन्न पाइने भएको छ । 

साइपाल गाउँपालिकामा उत्पादन हुने जडीबुटी र कृषि उपजलाई बजारसम्म सहज पहुँच दिलाउने उद्देश्यका साथ सदरमुकाम चैनपुरमा ‘साइपाल अर्गानिक कोसेली घर’ सञ्चालनमा आएको छ ।

जिल्लामा साइपाल गाउँपालिका र कृषि ज्ञान केन्द्र बझाङको पहलमा स्थापना गरिएको कोसेली घरको स्थापना गरिएको हो । कोसेली घरमा उच्च हिमाली भेगमा उत्पादन हुने कोदो, फापर, चिनो, कागुनो, सिमी, गहत, भटमास, आलु, मह, घ्यू, सुकुटीलगायत बिक्रीका लागि राखिएका छन् । यस्तै डालेचुकको जुस, विभिन्न जंगली सागको सुकुटी र जडीबुटी तथा अन्य अर्गानिक कृषि उत्पादन बिक्रीका लागि उपलब्ध हुनेछन् । साथै स्थानीय किसानले उत्पादन गरेका विभिन्न हस्तकलाका सामग्री पनि राखिने साइपाल गाउँपालिकाले जनाएको छ । 

साइपालका कृषि उपज र वनजन्य उत्पादनको जिल्लामा उच्च माग रहेको भए पनि दुईदेखि चार दिनसम्म पैदल हिँड्नु पर्ने भएकाले यसअघि सहज रुपमा उपलब्ध हुने गरेका थिएनन् । ‘एकातिर हिमाली हावापानीमा उत्पादन हुने कृषि उपजको चैनपुर मात्रै होइन धनगढी काठमाडौं जस्ता सहरमा पनि माग छ । अर्कोतिर ढुवानीको समस्याले बजार नपाएर त्यो सामान साइपाल मै थन्किएको अवस्था थियो ।’

कोसेली घरको उद्घाटन गर्दै साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले भने, ‘अब बजारका मान्छेले साइपालको अर्गानिक उत्पादन र साइपालका किसानले मेहनतको मूल्य पाउनेछन् ।’

स्थानीय किसानले उत्पादन गरेका अर्गानिक बाली, फलफूल, जडीबुटी तथा अन्य स्थानीय वस्तुहरूलाई उचित मूल्यमा बजारसम्म पुर्‍याउने लक्ष्यका साथ कोसेली घर सञ्चालनमा ल्याइएको कृषि ज्ञान केन्द्र प्रमुख जनकबहादुर सिंहले बताए ।  ‘यसले दुर्गम ठाउँका स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुका साथै किसानको श्रमले मूल्य पाउने र स्वरोजगार हुने अवस्था सिर्जना गर्ने आशा छ,’ उनले भने ।  

साइपाल गाउँपालिकी उपाध्यक्ष डोल्मा तामाङले कोसेली घरले पालिकाको अर्गानिक उत्पादनका पहिचान स्थापित (ब्रान्डिङ) गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।  ‘उपभोक्तालाई पनि बजारमै रसानिक मल र विषादी प्रयोग नभएको स्थानीय उत्पादन उपलब्ध हुनेछ,’ उनले भनिन्, ‘यसले स्थानीय किसानलाई उत्पादन बढाउन थप प्रेरणा मिल्ने विश्वास छ ।’ हालसम्म पनि सडक यातायात नपुगेको साइपालमा कुनै पनि कृषि उपज रासायनिक मल तथा विषादीको प्रयोगबिनै उत्पादन हुने गरेको छ । 

साइपाल अर्गानिक कोसेली घरका संचालक घुरन बोहराले कोसेली घरले अब साइपालका किसानको घरघरमै पुगेर उत्पादन खरिद गर्ने बताए । ‘साइपालका उत्पादनको माग अत्याधिक भएकोले किसानलाई व्यवसायिक खेती गरेर उत्पादन बढाउन पनि हामीले सहजीकरण गर्ने सोच बनाएका छौं,’ उनले भने । 

यसअघि उत्पादन बजारसम्म पुर्‍याउन ढुवानी खर्च बढी लाग्ने र खरिदकर्ता खोज्न समस्या हुने गरेको थियो । अब भने गाउँघर मै खरिद हुने भएकाले किसानलाई प्रत्यक्ष लाभ पुग्ने उनले बताए । 

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully