बझाङका पाँच युवा उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित

कृषि पेसालाई सम्मानित बनाउन मात्रै नभएर यस क्षेत्रमा आउनेहरूको मनोबल बढाउन पनि पुरस्कारले उत्प्रेरणा दिने कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनकबहादुर सिंहको भनाइ ।

असार २४, २०८३

वसन्तप्रताप सिंह

Five youths from Bajhang honored with Outstanding Farmer Award

What you should know

बझाङ — कृषि क्षेत्रमा उत्कृष्ट काम गरेबापत बझाङका पाँच जना युवा कृषकलाई प्रदेश स्तरीय पुरस्कारबाट सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भीमदत्त उत्कृष्ट पुरस्कारबाट उनीहरूलाई सम्मान गरेको हो । 

उत्कृष्ट कृषिकर्म गरेबापत प्रदेश स्तरीय पुरस्कारबाट सम्मानित हुनेमा खप्तड छान्ना गाउँपालिका–६ का ३० वर्षीय कैलाश खड्कालाई स्याउ तथा फलफूल खेतीमा उत्कृष्ट काम गरेबापत सम्मान गरिएको हो । उनले दुई हजार बढी बोट लगाएर वार्षिक दुई सय क्विन्टलभन्दा बढी स्याउ बिक्री गरिरहेका छन । साथै उनले किवी र बदामको समेत व्यावसायिक खेती गरिरहेका छन् । 

सम्मानित हुने छविसपाथिभेरा–६ की २७ वर्षीया मीनादेवी बुढाले व्यावसायिक तरकारी खेती गरिरहेकी छन् । उनले गाउँका अरू महिलालाई पनि तरकारी खेतीमा लाग्न प्रेरित गर्दै गाउँभरिको तरकारी संकलन र बिक्री गर्दै आइरहेकी छन् । पुरस्कृत अर्का युवा किसान बुंगल नगरपालिका–५ का धनबहादुर बागले व्यावसायिक सुन्तला खेती गरिरहेका छन् । 

गाउँमा अझै पनि कृषि पेसामा लाग्नेहरूलाई अपमानको नजरले हेर्ने र कृषि गर्ने युवाहरूको संख्या कम हुँदै गएका बेलामा आफूलाई गरिएको सम्मानले थप राम्रो गर्ने प्रेरणा मिलेको पुरस्कृत किसानहरूले बताए । ‘पढेलेखेका युवाले विदेश गएर जे पनि गर्ने तर आफ्नै माटोमा केही गरौं भन्नेलाई हेप्ने चलन अझै पनि गाउँघरमा छ,’ सम्मानित किसान मीनाले भनिन्, ‘तर यो पुरस्कार पाउँदा माटोमा पसिना बगाउँदा पनि सम्मान पाइने रहेछ भन्ने कुराले खुसी लागेको छ ।’ 

यस्तै पशुपालन गर्ने दुई जना उत्कृष्ट किसान जयपृथ्वी नगरपालिका–११ की ३१ वर्षीया धौलीदेवी धामी र केदारस्यू गाउँपालिका–७ का गणेश धामीलाई भेडाबाख्रा पालन गरेबापत पुरस्कृत गरिएको छ । पछिल्लो समय भेडा पाल्ने किसानको संख्या कम हुँदै गएको सन्दर्भमा उनीहरू दुवै जनाले व्यावसायिक भेडा पालन गरेर स्वरोजगार भएकामा पुरस्कृत गरिएको भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख कविराज कठायतले बताए । 

पुरस्कारको राशि जनही २५ हजार नगद, प्रमाण पत्र र दोसल्ला रहेको छ । उनीहरूलाई जिल्ला समन्वय समिति बझाङका उपप्रमुख कृण्णबहादुर विष्ट, जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल, साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहरा, बझाङका डीएसपी टेक जोराले पुरस्कार हस्तान्तरण गरेका थिए । 

आफ्नो पुर्ख्यौली भेडापालन व्यसायलाई निरन्तरता दिइरहेका युवा गणेश धामीले पुरस्कार पाउँदा भावुक भएको बताए । १२ कक्षा पास गरेर पढाइसँगै भेडा पालनलाई निरन्तरता दिइरहेका उनले भने, ‘पैसा कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने छैन । पसिना बगाए आफ्नै माटोमा पनि पैसा र सम्मान दुवै पाइन्छ भन्ने मेरो धारणालाई यो पुरस्कारले अझ बलियो बनाएको छ ।’

कृषि पेसालाई सम्मानित बनाउन मात्रै नभएर यस क्षेत्रमा आउनेहरूको मनोबल बढाउन पनि पुरस्कारले उत्प्रेरणा दिने कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनकबहादुर सिंहको भनाइ छ । ‘यो किसानको मिहिनेत र पसिनाको सम्मान हो । पुरस्कारले अरू क्षेत्रमा जस्तै कृषि पेसामा राम्रो गर्न सके पनि सम्मानित भइँदो रहेछ भन्ने सन्देश समाजमा प्रवाह गरेको छ,’ उनले भने, ‘यसले पुरस्कृतहरूलाई मात्रै नभई कृषि पेसामा आफ्नो भविष्य खोजिरहेकाहरूलाई उत्प्रेरणा दिनेछ भन्ने विश्वास छ ।’ उनले गत वर्ष पनि बझाङका तीन जना किसान प्रदेश स्तरको पुरस्कारबाट सम्मानित भएको बताउँदै यस्ता पुरस्कारले कृषि पेसामा लाग्नेहरूलाई प्रोत्साहन मिलेको बताए ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully