दुर्गाथली गाउँपालिका–३ रकैलस्थित भगवती आधारभूत विद्यालयमा उक्त घटना भएको हो ।
बझाङ — सामान्य विवादपछि कुटपिट हुँदा बझाङमा एकजनाको मृत्यु भएको छ । दुर्गाथली गाउँपालिका–३ रकैल स्थित भगवती आधारभूत विद्यालयमा भएको घटनामा गगन धामीको उपचारका क्रममा मृत्यु भएको हो ।
घटनामा संलग्न सोही ठाउँका २८ वर्षीय सिंहराज धामीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ परेका सिंहराजले शुक्रबार दिउँसो गगन र उनका छोरा सन्तोषबीच सामान्य विवाद हुँदा आफू र भगवती आधारभूत विद्यालयका शिक्षक मदन धामी र आफू छुट्याउन गएको र मदिरा सेवन गरेका गगनले उल्टै आक्रमण गर्न आएपछि बचाउका लागि धकेलाधकेल हुँदा गगन घाइते भएको बताएका छन् ।
झगडाका क्रममा शिक्षक मदनको पनि टाउकोमा चोट लागेको र सामान्य उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ । दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ ल्याइएको थियो । गम्भीर घाइते गगनलाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रिफर गरिएको थियो । उपचारकै क्रममा शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक उपेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
‘घटनाको वास्तविकता अझै खुलेको छैन । हामी अनुसन्धानकै क्रममा छौं,' प्रहरी निरिक्षक तिमिल्सिनाले भने, ‘थप मानिससँग सोधपुछको काम भइरहेको छ ।'
