डडेल्धुरा जिल्लामा अफ्रिकन स्वाइन फिभरको संक्रमण भेटिएपछि पशु सेवा विज्ञ केन्द्रले सबै बंगुरपालक कृषकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
What you should know
डडेल्धुरा — डडेल्धुरामा बंगुरमा अफ्रिकन स्वाइन फिभर (एएसएफ) रोगको संक्रमण पुष्टि भएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले जिल्लाभरका बंगुर तथा सुँगुरपालक कृषकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
केही दिनयता जिल्लामा केही बंगुरमा उच्च ज्वरो (१०५ देखि १०७ डिग्री फरेनहाइट), कान, पुच्छर तथा पेटको तल्लो भागमा रातो दाग देखिने, शरीरमा निलो धब्बा पर्ने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, श्वासप्रश्वासमा समस्या हुने, चाल गडबडिने लगायतका लक्षण देखिएपछि केही बंगुरको मरेकाे केन्द्रले जनाएको छ।
केन्द्रको प्राविधिक टोलीले स्थलगत अनुगमन गरी नमुना संकलन गरेर पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो। र्यापिड टेस्ट किट परीक्षणमा एएसएफ संक्रमण पुष्टि भएको केन्द्रका प्रमुख डा. सुशील ऐरीले बताए। उनले थप पुष्टि परीक्षणका लागि नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौं पठाइएको बताए।
केन्द्रले रोग थप फैलिन नदिन जिल्लाभित्र रहेका सबै बंगुर तथा सुागुर पालक कृषकलाई आवश्यक जैविक सुरक्षा (बायो–सिक्युरिटी) का उपाय तत्काल अपनाउन अनुरोध गरेको छ। बंगुर फार्म र वरपरको क्षेत्र नियमित सरसफाइ गरी चुना, ब्लीचिङ पाउडर, फर्मालिन तथा भिरकोन–एसजस्ता निसंक्रमण सामग्री प्रयोग गर्न, रोगको शंका लागेका पशुलाई छुट्टै राख्न र तत्काल प्रयोगशाला परीक्षण गराउन आग्रह गरिएको छ।
त्यस्तै, मरेका बंगुर वा सुँगुरलाई सुरक्षित रूपमा गाड्ने वा जलाउने, घरेलु बंगुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिने, होटल तथा रेस्टुरेन्टबाट निस्कने फोहोर वा जुठो खाना नखुवाउने, बंगुरको अनियन्त्रित ओसारपसार नगर्ने तथा संक्रमित फार्मबाट बंगुर खरिद–बिक्री नगर्न पनि केन्ऽले अनुरोध गरेको छ। कार्यालय प्रमुख डा.ऐरीले अफ्रिकन स्वाइन फिभर अत्यन्त संक्रामक रोग भए पनि यो रोग पशुबाट मानिसमा नसर्ने बताए।
