कोरोना महामारीपछि रोकिएको नेपाल–भारत सीमा निरीक्षण सात वर्षपछि पुनः सुरु भई खसेका, बगेका र हराएका सीमास्तम्भ मर्मत तथा पुनर्निर्माण गरिएको छ ।
What you should know
धनगढी — नेपाल–भारत संयुक्त सीमा सर्भेक्षण टोलीले चैतदेखि असार पहिलो सातासम्म सुदूरपश्चिमको कैलालीदेखि दार्चुलासम्मको सीमा क्षेत्रको स्थलगत अवस्था अध्ययन तथा निरीक्षण सकेको छ ।
सीमाक्षेत्रको अवस्था अध्ययनको क्रममा दुवै देशको संयुक्त टोलीले बगेका, टुटफुट भएका सीमा स्तम्भको मर्मत तथा पुनर्निर्माण पनि गरेको जनाएको छ ।
लामो समयदेखि बिभिन्न कारणले रोकिएको सीमा स्तम्भहरुको अवस्था अध्ययन कार्य ७ वर्षपछि पुन: सुरु भएको हो । दुवै देशको संयुक्त टोलीका प्राविधिकले यसपटक पूर्वदेखि सुदूरपश्चिमसम्म बिभिन्न ४ टोलीमा खटिएर ३ महिना अवधिमा ढलेका, बगेका र हराएका स्तम्भको पहिचान गरी मर्मत र पुननिर्माण कार्य गरेको छ । ‘७ वर्षअघि कोरोनाकालदेखि विभिन्न कारण रोकिएको सीमा स्तम्भको अवस्था अध्ययन कार्य पुन: सुरु भएको हो,’ सुदूरपश्चिम क्षेत्रमा खटिएको नेपाली टोलीका प्रमुख नापी विभागका प्रमुख नापी अधिकृत ज्ञानेन्द्रकुमार बिष्टले भने, ‘आउँदो मंसिरमा पुन: संयुक्त टोली अध्ययनमा खटिने कार्यक्रम रहेको छ ।’
नेपाली पक्षका टोली प्रमुख बिष्टका अनुसार नेपाल–भारत दुवै देशको संयुक्त टोलीका सहभागी प्राविधिकहरुले कैलालीको खक्रौलादेखि सुरु गरी पहिलो चरणको कार्यादेश अनुसारको सीमा क्षेत्रको निरीक्षण तथा अवस्था पिलर मर्मत र पुनर्निर्माणको काम दार्चुलासम्म पुगेर टुंग्याएको हो । टोलीमा नेपालको नापी विभागका ६ जना तथा भारतको देहरादुनस्थित सर्भे डिपार्टमेण्ट अफ इन्डियाका ६ जना प्राविधिक रहेका थिए ।
सुदूरपश्चिममा भारतीय पक्षको टोली प्रमुख सर्भे डिपार्टमेन्ट अफ इण्डियाका सर्भेक्षक अधिकारी मुकेश कुमार थिए । ३ महिनाको अवधिमा बिभिन्न समयमा बाढीले बगाएका, नदी र खोलामा पुरिएका, ढलेका तथा लोप भएका ५२ सहायक सीमास्तम्भको मर्मत गरेको नेपाली टोलीका प्रमुख बिष्टले जानकारी दिए ।
उनका अनुसार १ मुख्य सीमास्तम्भसँगै ११ सहायक पिलर पुनर्निर्माण गरिएको छ । ‘कैलालीको मोहना र कञ्चनपुरको महाकाली नदी आसपासको क्षेत्रमा सबैभन्दा बढी संख्यामा बाढीले बगाएका सहायक पिलर पुनर्निर्माण गरिएको छ,’ पिलर पहिचान गर्दा जिपीएसबाट सीमा निर्धारण गरिएको जानकारी दिँदै नेपाली टोली प्रमुख बिष्टले भने, ‘कञ्चनपुरमा ७ र कैलालीमा ४ गरी ११ सहायक पिलर पुन: निर्माण गरिएको छ । कञ्चनपुरको पुनर्वास क्षेत्रको १ मुख्य सीमास्तम्भ निर्माण गरिएको छ ।’
उक्त नेपाल भारत संयुक्त कार्यदललाई विवादित सीमा क्षेत्रबाहेकमा काम गर्ने कार्यादेश रहेको थियो । सीमा विवाद नभएका ठाउँका ढलेका र हराएका स्तम्भको स्थलगत निरीक्षण गरी दुवै पक्षको सहमतिमा मर्मत, पुनर्निर्माणलगायतको काम भएको बिष्टले बताए । टोलीले विवादित क्षेत्रबाहेक कञ्चनपुरको गड्डाचौकीस्थित मुख्य सीमास्तम्भ नम्बर ८१२ देखि दार्चुलाको ९२७/३ सम्मका सहायक पिलरसमेत गरी ४०२ पिलरको निरीक्षण र अध्ययन गरेको नेपाली टोलीका प्रमुख बिष्टले जानकारी दिए ।
यो वर्षको पहिलो चरणको सीमा अवस्था अध्ययन र निरीक्षणको काम सम्पन्न गरी दुवै देशका टोलीका सर्भेक्षकहरु हालको सर्भेक्षण कार्यालय बन्द गरी आफ्नो विभागमा फर्किएको टोली प्रमुख बिष्टले बताए ।
