असारको सुरुवातसँगै सिँचाइ सुविधा भएका क्षेत्रमा किसान बिहानदेखि साँझसम्म खेतमा धान रोप्न खटिएका छन्।
कञ्चनपुर — धेरै दिनदेखि वर्षा नहुँदा दिउँसोको तापक्रम ३९/४० डिग्री पुगेको छ । उखरमाउलो गर्मीकै बीच यहाँ धमाधम रोपाइँ भइरहेको छ । कतै ब्याड निकालिँदै छ त कतै धान रोप्ने काम भइरहेको छ । यतिबेला कञ्चनपुरको अधिकांश क्षेत्रका किसान खेतमा रोप्ने चटारोमा छन् ।
असार लागेसँगै कञ्चनपुरमा रोपाइँ धुमधाम सुरु भएको हो । महाकाली सिँचाइ आयोजनासँगै अन्य भूमिगत सिँचाइ योजनाका कारण वर्षा नभए पनि धान रोप्न सम्भव भएको हो । ‘अब रोपाइँको धुमधाम सुरु भइसक्यो,’ भीमदत्त नगरपालिकाका किसान नरेश जोशीले भने, ‘दिउँसो त गर्मी धेरै छ, गर्मीकै बीचमा पनि रोपाइँको चटारो बढेको छ।’
लामो समयदेखि वर्षा नहुँदा उखरमाउलो गर्मी छ । असार पहिलो सातासम्म पनि यहाँको तापक्रम ३९/४० डिग्रीसम्म छ । चर्कोे गर्मीकै बीचमा किसान खेतमा व्यस्त छन् । किसानहरु बिहानैदेखि साँझसम्म खेतमै व्यस्त छन् । ब्याड निकाल्नेदेखि खनजोत गर्ने र धान रोप्ने सबै काममा जुटेका देखिन्छन् ।
कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धान खेती गरिन्छ । यहाँ धानको उत्पादकत्व ४ मेट्रिक टन प्रतिहेक्टर रहेको छ । सिँचाइ सुविधा पुगेको क्षेत्रमा जेठ अन्तिमदेखि असार पहिलो हप्तामै रोपाइँ गरिन्छ । सिँचाइ सुविधा नपुगेको क्षेत्रमा पनि असार मध्यसम्म रोपाइँ गरिसक्ने भए पनि यो वर्ष यतिबेलासम्म वर्षा सुरु नहुँदा केही ढिलाई हुनसक्ने देखिन्छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार हालसम्म जिल्लामा १५ प्रतिशत रोपाइँ भएको छ । अहिले सबै क्षेत्रमा धुमधामका साथ खेत रोप्ने काम भइरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्म साउँदले बताए ।
