आगामी वर्षको बजेटले स्वास्थ्य क्लिनिक, दीगो पूर्वाधार, रोजगार मेलादेखि विद्यार्थी सीप विकास र पर्यटकीय कार्यक्रमलाई प्राथमिकता दिएको छ।
धनगढी — आगामी आर्थिक वर्ष २०८३/८४ का लागि धनगढी उपमहानगरपालिकाले २ अर्ब ६४ करोड ६४ लाख ६४ हजार ४६४ को बजेट ल्याएको छ ।
उपमहानगरपालिकाको आइतबार सम्पन्न १५ औं नगरसभामा नगर उपप्रमुख कन्दकला रानाले कूल बजेटमा चालुतर्फ १ अर्ब ४३ करोड ६३ लाख ८७ हजार ७८१ र पुँजीगततर्फ १ अर्ब २३ करोड ७६ लाख ६८३ विनियोजन गरिएको उल्लेख गरिन् ।
आगामी वर्षको बजेटमा उपमहानगरपालिकाले वडा स्वास्थ्य क्लिनिकलाई थप प्रभावकारितासहित निरन्तरता दिने, नगर गौरवको आयोजना सञ्चालन गर्ने, दीगो र वातावरणमैत्री पूर्वाधार विकास गरी धनगढीलाई बसोबास योग्य र समुन्नत बनाउने, विद्यार्थीलाई पढ्दै सिक्दै कार्यक्रम अन्तरगत सीप सिकाउने, सीप तथा रोजगार मेलालाई निरन्तरता दिने, सडक बत्ती व्यवस्था गरी मध्याकालीन बजार र रात्रीकालीन पर्यटन प्रबर्द्धन गर्नेलगायतका कार्यक्रम रहेका छन् ।
नगरसभाको आइतबार नै बसेको बैठकमा उपप्रमुख रानाले उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
धनगढी उपमहानगरले चालु आर्थिक वर्ष ०८२/८३ मा २ ५६ करोड ४ लाख ६६ हजार बजेट ल्याएको थियो । जेठसम्म १ अर्ब १९ करोड ९४ लाख ६५ हजार ७४२ खर्च भएको बताइन् ।
